करिब चार दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका कबिर राणा नेपाली कांग्रेसका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । आफूलाई मिसन पत्रकारितामा स्थापित गराएका राणा आफ्नो क्षेत्रको विकास, जनताको कल्याण र सामाजिक न्याय सुनिश्चित गर्न निरन्तर प्रयासरत छन् । पार्टीको नीति र लोकतान्त्रिक मूल्य–मान्यतालाई आफ्नो क्षेत्रमा पु¥याउन क्रियाशील राणासँगनेपाल न्युज बैंकले चुनाव केन्द्रित कुराकानी गरेको छ ।

चुनावको तयारी कसरी गरिरहनुभएको छ, मतदाताहरूको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

ad

विशेषतः पार्टीका विभिन्न निकायअन्तर्गत जिल्ला, क्षेत्रीय, नगर समितिसम्मको मिटिङ चलिरहेको छ । पार्टीका संगठनहरूको सक्रियता बढाउँदै गइरहेका छौँ । फुर्सदको समयमा मतदाता पनि भेटिरहेका छौँ । घरदैलो त सुरु गरेका छैनौँ तर विभिन्न भेगमा पुगेर ज्येष्ठ नागरिकहरूसँग भेटघाट, जात्रामात्रा, स्वस्थानी पूजा अन्य गतिविधिहरूमा सामेल भइरहेको छौँ । भेटले उत्साहित बनाएको छ । विशेष परिस्थितिमा हुन लागेको चुनावमा कांग्रेस सच्चिएर र नेतृत्व परिवर्तन गरेर आएकाले थप उत्साह थपेको छ ।

म झन्डै साढे चार दशकभन्दा बढीदेखि राजनीतिमा क्रियाशील छु । साढे तीन दशकभन्दा बढी पत्रकारितामा क्रियाशील भएँ । वकिल पनि भएकाले हरेक विषयमा जानकार पनि छु । दुःख गरेको, जेलनेल भोगेको र अनुभवी पनि भएकाले मतदाताहरूले स्नेह गरिरहनुभएको छ । ०४९ सालमा स्थानीय चुनाव जितेर ०५४ सम्म भक्तपुर जिल्ला विकास समितिमा जिल्ला सदस्यको रूपमा पनि कार्य गरेको थिएँ । त्यसबेलाको कामप्रति भक्तपुरवासी अत्यन्तै खुसी पनि हुनुभएको छ ।

म पदमा हुँदा निर्विवाद र निष्कलंक भएको हुनाले नै जिल्लास्तरीय राजनीतिक हाइट बनेको थियो । त्यसलाई मैंले कायमै राखेको छु । मैले टिकट पाउँदा जनता र कांग्रेसका समर्थक एवं शुभचिन्तक सबै खुसी छन् ।

चुनावी दौरानमा शुभेच्छुक र मतदाताको घरदैलोमा पुग्दा उहाँहरूको अपेक्षाचाहिँ कस्तो पाउनुभयो ?

एकदमै सुन्दर ठाउँ हो, भक्तपुर । जेनजी आन्दोलनपछि सबैले माग गरेको कुरा सुशासन नै हो । यसबीचमा धेरै कुशासन र भ्रष्टाचारका कामहरू भए । त्यसलाई निर्मूल पार्ने हाम्रो जिम्मेवारी छ । ०६२–६३ को आन्दोलनपछि तीन चारजनाको नेतृत्वमा म्युजिकल चेयरजस्तो गठबन्धनको सरकार चलिरह्यो । जसका कारण मान्छेहरू वाक्कदिक्क भएका थिए । जेनजी आन्दोलनले पनि सुशासन र सामाजिक सञ्जाल निर्वाध सञ्चालनको माग गरिएको हो । किनभने सामाजिक सञ्जालबाट युवाहरूले स्वदेशमा बसीबसी मजाले कमाइरहेका थिए, त्यो रोकियो । सुशासनको कुरा उठाइरहेका थिए । त्यो रोकिएकाले विद्रोह भएको हो । अब हामीले त्यसलाई सम्बोधन गर्नैपर्छ । त्यो सम्बोधन गर्नेगरी कांग्रेसमा चौथो पुस्ताको भनौँ, जेनजीखालकै नेतृत्व आएको छ । कांग्रेसको पहिलो बैठकले नै निर्णय गर्दै पार्टी बदलिएको सन्देश दिइसकेको छ । अब देश बदल्नुपर्छ । जेनजीको भावनाको सम्बोधन हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।

भक्तपुरको कुरा गर्दा यो कला, संस्कृति र सम्पदाको धनी जिल्लाको हो । यहाँको कला संस्कृति सम्पदामा अझ सुधार गरेर र संरक्षण गरेर अघि बढ्नुपर्छ भन्ने लाग्छ । विश्वकै एक नम्बर टुरिस्ट हब बनाउनेगरी काम गर्नु पर्नेछ । संघीय संसद् भनेको नीति निर्माता हो, जो सरकारले सञ्चालनका लागि आवश्यक छ । त्यसका लागि मेरो भूमिका अर्थपूर्ण हुन्छ । पत्रकार भनेको स्थायी प्रतिपक्ष हो । चौथो अंग, वाचडगका रूपमा काम गर्नुपर्ने, सरकारको विपक्षमा काम गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि पोख्त छु । कानुनको पनि विद्यार्थी भएको हुनाले संसद्मा मलाई सजिलो पनि हुन्छ । हरेक विधेयक वा ऐन बनाउने भूमिकामा म अब्बल सावित हुनेछु । यो कुरा भक्तपुरका जनताले बुझेका छन् । म चुनाव लडेको क्षेत्र खानेपानीको हाहाकार भएको ठाउँ हो, भर्खरैभर्खरै मेलम्चीको पानी आएको छ । तर, यहाँ मेलम्चीको पानी बर्खा याममा त आउँदै आउँदैन । त्यसको लागि स्थायी रूपले केही न केही काम गर्नुपर्नेछ । यता आशापुरीमा एउटा स्थायी खानेपानीको स्रोत छ । त्यसलाई स्रोत बनाएर पानी संकलन गरेर क्षेत्रभरि वितरण गर्न सकियो भने केही वर्षसम्मको लागि सहज हुनेछ । बस्ती बढ्दै गएकाले खानेपानीको समस्या समाधान गर्नैपर्ने बाध्यता छ । नैचालमा पनि पानीको स्रोत भएकाले त्यहाँबाट पनि खानेपानी ल्याउन सकिने आधारहरू छन् । यसमा म पहल गरेर काम गर्न सक्छु ।

त्यसबाहेक भक्तपुरमा मुख्य नदीको रूपमा रहेको हनुमन्ते खोला जसको ०३७–३८ सालसम्म हामी त्यहीँ नुहाएर त्यहीँको पानी लगेर पूजा गरेर खान सक्ने अवस्था थियो । अहिले त्यहाँ खुट्टा डुबाउन सक्ने अवस्था पनि छैन । त्यहाँ ढल मिसाउन रोकेर सफा हनुमन्ते बनाउन पहल गर्नुपर्नेछ । हनुमन्ते करिडोरको नारा उठेको छ, तर नारामै सीमित छ । अहिलेसम्म त्यो अगाडि बढ्न सकेको छैन । त्यसलाई पूरा गर्नुपर्नेछ । भक्तपुरमा सहरीकरण बढेको छ, तर अव्यवस्थित छ । अब व्यवस्थित सहरीकरण गरेर भक्तपुर नमुनाको सहर बनाउन पनि लागि पर्नेछु ।

अन्य मुद्दा र अपेक्षा के–के छन् ?

भक्तपुरमा धेरै धार्मिक एवं सांस्कृतिक स्थलहरू छन् । सूर्यविनायकमा केदारनाथको शिर डोलेश्वर आशापुरी, अनन्त लिंगेश्वरजस्ता धार्मिक तीर्थस्थलहरू छन् । प्राणी उद्यान केन्द्रको पनि काम भइरहेको छ । सदर चिडियाखाना यहाँ सार्ने कुरा पनि भइरहेको छ । त्यसका लागि काम सुरु भइसकेको छ, त्यसका लागि थप पहल गर्नुपर्नेछ । मध्यपुर भनेको कला र संस्कृतको नगर हो, त्यहाँ जात्रा र भजन मण्डली धेरै हुन्छन् त्यसको संरक्षण गर्नुपर्नेछ । जात्रा र संस्कृतिको सहर भएकाले त्यसको संरक्षण गर्नु छ । सम्पूर्ण भक्तपुरको कला संस्कृति सम्पदालाई संरक्षण गर्नुपर्ने मेरो दायित्व छ । भक्तपुरबासी उद्योग धन्दामा पनि बढी सक्रिय भएकाले इँटाभट्टा उद्योगहरू, कृषि उद्योगहरू, जग्गा प्लटिङको समस्याहरू छन् । जसमा नीतिगत मात्र होइन अन्य व्यावहारिक समस्याहरू पनि रहेकाले त्यसको समाधानमा काम गर्नुपर्नेछ ।

इँटाभट्टा र प्लटिङको चाहिँ कस्ता किसिमका मुद्दाहरू उठेका छन् ?

इँटाभट्टाले त धेरैलाई रोजगारी दिएको छ र व्यवसाय पनि चलेको छ । यसले प्रदूषण ल्यायो भन्ने छ र उब्जनीमा ह्रास ग¥यो भन्ने छ । इटाभट्टा क्षेत्रको जग्गामा उब्जनी राम्रोसँग हुँदैन भन्ने छ । तर, अहिले यस्ता उद्योगहरू आधुनिकीकरण भइसकेका छन् । पहिलेजस्तो प्रदूषण हुँदैन । स्थानीय मात्र होइन देशभरिका मान्छेलाई रोजगारी दिइरहेको छ । पछिल्लो समय यस्ता उद्योगहरू वातावरणमैत्री भइसकेका छन् । जहाँसम्म प्लटिङको कुरा छ, त्यो सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने देखिन्छ । किनभने साना–साना टुक्रामा जग्गा टुक्राएर बन्ने सहर व्यवस्थित हुँदैन । आधुनिक किसिमले गरिएको प्लटिङबाट मात्र व्यवस्थित सहर बसाल्न सकिन्छ । यसका लागि सरकारमै सामेल भएर नयाँ नीति ल्याउनु पर्नेछ । त्यसका लागि म पूर्ण रूपमा सक्रिय हुनेछु ।

पछिल्लो समय वैकल्पिक भनिएका नयाँ दलहरू खुलेका छन् र चुनावी मैदानमा छन् । उनीहरू पुराना पार्टीहरूप्रति घेराबन्दी र मोर्चाबन्दी गरिरहेका छन् । त्यस्तो चुनौतीको सामना कसरी गर्दै हुनुहुन्छ ?

पुराना भनिएका पार्टीहरूप्रति लगाइएका आरोप मिथ्या छन् । किनभने उहाँहरू (रास्वपा) पनि अघिलो चुनावमा जितेर सांसद बन्नुभएको र गृहमन्त्री वा उपप्रधानमन्त्री बनिसक्नुभएको हो । अनि सरकारमा जाँदा एउटा भाषा, प्रतिपक्षमा बस्दा अर्को भाषा बोल्न सुहाउँछ ? नयाँ भन्ने दलका मान्छेको चरित्र र व्यक्तित्व एकपटक राम्ररी हेर्नुहोला । उहाँहरूमाथि पनि आरोपैआरोप छ । सबै उम्मेदवारमाथि आरोप छ । कांग्रेस मात्र यस्तो पार्टी हो जो नयाँ भयो, हालै विशेष महाधिवेशनपछि नयाँ कांग्रेस आएको छ । नयाँ नेतृत्व आएको छ । हालको चुनावमा पनि कांग्रेसको झन्डैझन्डै दुईतिहाइ नयाँ अनुहार उम्मेदवार छन् । अहिले १६५ मा १०६ त नयाँ अनुहारले टिकट पाएका छन् । लोकतन्त्र, समाजवाद राष्ट्रियता स्थापित नारा स्थापनाकालदेखिकै हो । केन्द्रीय समितिले १० वटा बुँदा नारा सबैभन्दा नयाँ छ । अनि कसरी अरू नयाँ पार्टी हुन्छन् ?

कांग्रेसभित्र पनि एउटा पक्ष त असन्तुष्ट छ नि ?

भक्तपुरको हकमा त्यस्तो असन्तुष्टि केही छैन । आठ आकांक्षीमध्ये एकजना आधिकारिक उम्मेदवार भइसकेकाले केही दिन सामान्य असन्तुष्टिजस्तो देखिएको हो, त्यो मानवीय स्वभाव पनि हो । त्यो सम्पूर्ण रूपमा मिलिसकेको छ । आन्तरिक गुटचाहिँ कांग्रेसमा जहिले पनि छ । २०१२ सालमा गणेशमानजी र सुवर्ण सम्शेरजी चुनाव लडेकै हो । त्यसबेलादेखि धेरै चुनावहरू भए, महाधिवेशन भए । सर्वसम्मत नेतृत्व भनेको त किसुनजी मात्रै हो । त्यसबाहेक सधैँ चुनाव भएका छन् । लोकतान्त्रिक पार्टीमा चुनावी प्रतिस्पर्धालाई गुट वा विवादका रूपमा लिनुहुँदैन । कांग्रेसमा एउटा संस्कार राम्रो के छ भने टिकट बाँड्नुअगाडि जतिसुकै विवाद भए पनि टिकट पाएपछि सबै रुखलाई बोकेर हिँड्छन । पार्टीका सबै नेताहरू परिपक्व हुनुहुन्छ । सबैजना अभिभावकका रूपमा हुनुहुन्छ ।

विगतको मत परिणामलाई चाहिँ कसरी हेर्नुहुन्छ ?

भक्तपुर २ को सन्दर्भका कुरा गर्दा ०४८ सालपछि मत खस्ने परिपाटी र अवस्था हेर्दा कहिले नेपाली कांग्रेस कहिले नेपाल मजदुर किसान पार्टीले मतमा तलमाथि हुँदै आएको हो । ०१५ साल, ०४८ सालमा कांग्रेसले जितेको हो । ०५१ मा नेमकिपा पहिलो, दोस्रो राप्रपा, तेस्रो कांग्रेस, चौथो एमाले भएको हो । ०५६ मा कांग्रेसले जित्यो, दोस्रो नेमकिपा, तेस्रो एमाले भएको हो । ०६४ मा नेमकिपा पहिलो हुँदा हामी दोस्रो भएका हौँ । त्यसपछिका चुनावमा पनि हामीले बाजी मारेका छौँ । पूर्वसभामुख दमननाथ ढुंगाना चुनाव लडेको बेला टेक्निकल्ली समस्या भयो । वास्तवमा एमाले यस क्षेत्रमा तेस्रो हो । जुनसुकै हालतमा पनि नेपाली कांग्रेस यस क्षेत्रमा बलियो हो । ०१५ सालदेखि भक्तपुर २ नेपाली कांग्रेसको गढ क्षेत्र हो ।

तर पछिल्लो समय मतदाताहरूको मनोविज्ञान अलिकति खलबलिएको जस्तो देखिन्छ, यसपटक मत परिवर्तन गर्ने संकेत देखिएको छ नि ?

सामान्य ह्विमजस्तो देखिन्छ तर हामी मतदाताहरूको घरमा पुग्दा धेरै भिन्नता पाएनौँ । पाका र युवा मतदातामा थोरै फरकपन पाएका छौँ । हालै नेपाली कांग्रेसले आयोजना गरेको भेलामा करिब २५ प्रतिशत सहभागी २५ वर्ष उमेर समूहमुनिका थिए । पार्टीभित्र जेनजीहरूको बाहुल्य छ । चुनावमा जेनजीलाई सम्बोधन गर्ने भनेरै हाम्रा प्रतिबद्धता पत्र अनि संकल्प पत्र लिएर आइसकेका छौँ । गत भदौ २३ को घटनापछि कांग्रेसका तत्कालीन महामन्त्रीद्वयले माफी मागेर जेनजीका भावनासँग सहमत रहेको जानकारी दिइसक्नुभएको छ ।

जेनजीहरूको भावना र उनीहरूले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्नेगरी प्रधानमन्त्री नै घोषणा गरेर जाने परिस्थिति निर्माण भएको छ । ०१५ सालमा पनि विशेष महाधिवेशन गरेर सुवर्ण शमशेरजीले बीपी कोइरालालाई भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा कांग्रेसले दुईतिहाइ बहुमत पाएको थियो । ०५१ मा हामी दोस्रो पार्टीमा खुम्चिएका थियाँै । ०५६ मा किसुनजीलाई भावी प्रधानमन्त्री भनेर प्रस्तावित गरेर जाँदा ०४८ को इक्वेसनमा फर्केका थियौँ । हाल गगन थापाजी युवाहरूमाझ वा जेनजीहरूमाझ सबैभन्दा प्रभावशाली र प्रभावकारी देखिनु भएकाले पार्टी उपसभापति एवं पूर्वमहामन्त्री (विश्वप्रकाश शर्मा)ले आफूभन्दा जुनियरलाई आफ्नै कार्यसमितिको सभापति बनाउनुभयो र प्रधानमन्त्रीको प्रस्ताव पनि उहाँले गर्नुभयो । केन्द्रीय समितिले सर्वसम्मतले पास नै ग¥यो । जसका कारण जनतामा युवा कांग्रेस वा नयाँ कांग्रेस र जेनजीको भावनाअनुसार चल्ने कांग्रेस भन्ने सन्देश गएको छ । त्यसले कांग्रेसको मत बढाउँछ जस्तो लाग्छ ।

त्यसो भए भक्तपुर २ मा तपाईंको मुख्य प्रतिस्पर्धी को हो त ?

यसबीचमा धेरै मिडियाहरूमा अन्तरवार्ता दिएको छु । सबैमा मैले भनेको छु– जनतालाई नै जनार्दन मानेको छु । जनताको मन जितेर मतदान जित्नेमा विश्वस्त छु । म जनताबाहेक कसैलाई सोध्दा नि सोध्दिनँ हेर्दा नि हेर्दिनँ । कुनै पार्टी वा कुनै उम्मेदवारप्रति मेरो वैरभाव छैन । कसैलाई आलोचना गर्नु पनि छैन । त्यसैले जनताको मन जित्ने हो । कसैलाई प्रतिस्पर्धी मानेर होच्याउन पनि चाहन्न । सबै साथीहरू जनतामा जानुपर्छ, जनताको मन जित्न लाग्नुपर्छ । मन जित्ने कुरामा म एक नम्बर हुन्छु भन्नेमा विश्वस्त छु । जनताको सेवक हुन लागेको हुँ, शासक होइन । राजनीति भनेको पेसा होइन, समाजसेवा हो नि ! म झन्डै पाँच दशकदेखि राजनीतिमा क्रियाशील छु, नजिकबाट नियालिरहेको छु । जनताको सेवकबाहेक मैले आफूलाई शासक रूपमा कहिले काम गरेको छैन । म कुनै सार्वजनिक पदमा छैन । तर सरकारको नजिक भएर जजिसक्दो जनताको सेवा गरेको छु । मेरो हैसियतले भ्याएसम्म सेवा गरेको छु । जनताको मन जित्ने मान्छे हुँ, अहिले पनि जनताको मन जित्न लागिरहेको छु ।

मतदाताप्रति तपाईंको सन्देश के छ ?

जेनजी विद्रोहपछि हुन लागेको विशेष परिस्थितिको यो चुनावमा सबै सचेत हुनुपर्छ । यतिबेला गरेको मतदानले गैरजिम्मेवार शक्तिको उदय नहोस् । अराजनीतिक शक्ति उदय हुँदा राष्ट्र नै संकटमा पर्नसक्ला वा तानाशाह जन्मेला भन्नेमा सबैजना सचेत हुनुपर्नेछ । मुलुक विषम परिस्थितिमा छ , लोकतन्त्र संकटमा छ भन्ने चर्चा भइरहेकाले यसमा सबै मतदाता सचेत हुनुपर्नेछ । ०७ साल, ०४६ साल, ६२÷६३ सालको आन्दोलनको नेतृत्व गरेको कांग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन प्रमूख भूमिका निर्वाह गरेको कांग्रेस पाको हो तर युवा नेताले हाँकेको पार्टीलाई मतदाताले मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु । बीपी कोइरालाले ‘आफूमा कन्फ्युजन हुन लाग्यो भने आफू बसेको धर्तीको एक मुठी माटो लिएर आत्मालाई सोचेर निर्णय गर्नु’ भनेको जस्तो अहिलेका मतदाताले पनि त्यही गर्नुपर्ने अवस्था छ । त्यसैले देशभरका मतदाताहरूलाई आह्वान गर्छु– फागुन २१ गते नेपाली कांग्रेसका देशभरिका उम्मेदवारलाई मतदान गरी कांग्रेसको सरकार बन्ने वातावरण बनाइदिनुहोला ।