
काठमाडौं । विश्व क्रिकेटको महाकुम्भ ‘आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप २०२६’ भारत र श्रीलंकामा हिजो शनिबार सुरु भइसकेको छ । विश्वकपको माहोलका कारण नेपालसहित विश्वभरका क्रिकेटप्रेमीमा नयाँ उत्साह छाएको छ । भारत र श्रीलंकामा आगामी फागुन २४ गतेसम्म हुने विश्वकपको १०औँ संस्करण नेपाली क्रिकेटका लागि केवल एउटा खेल मात्र नभएर दशकौँको संघर्ष र सपनाको एकीकृत स्वरूप हो ।
उदाउँदो क्रिकेट राष्ट्रका रूपमा विश्वभर पहिचान बनाउँदै गरेको नेपालले उच्च मनोबलका साथ तेस्रोपटक विश्वकपको मञ्चमा आफ्नो उपस्थिति जनाउँदै छ । विभिन्न मैत्रीपूर्ण खेल, वैदेशिक प्रशिक्षण र ‘वार्मअप म्याच’मार्फत खारिएका नेपाली खेलाडीहरू यसपटक विगतको भन्दा परिष्कृत नतिजा निकाल्दै मुलुकको शिर उच्च राख्ने लक्ष्यका साथ मुम्बईको वानखेडे रंगशालामा उत्रन तयार छन् । विश्वकपको पहिलो खेलमै क्रिकेटको जन्मदाता मानिने इंग्ल्यान्डजस्तो शक्तिशाली टोलीसँग खेल्न पाउनु नेपालका लागि एक सुखद् संयोग र ठूलो परीक्षा दुवै हो । जुन खेल आज आइतबार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
नेपालको क्रिकेट यात्रा संघर्ष र गौरवको एक अद्भूत गाथा हो । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा पहिलोपटक सहभागिता जनाउँदै हङकङ र अफगानिस्तानजस्ता राष्ट्रलाई स्तब्ध पारेको नेपालले दोस्रो सहभागिताका लागि १० वर्ष लामो प्रतीक्षा गर्नुपरेको थियो । सन् २०२४ को विश्वकपपछि नेपालले आफ्नो लयलाई निरन्तरता दिँदै सन् २०२५ मा आईसीसीको पूर्ण सदस्य वेस्ट इन्डिजलाई टी–ट्वान्टी शृंखलामा पराजित गरेर विश्व क्रिकेटलाई ठूलो धक्का दिइसकेको छ । सोही वर्ष सामोवा, ओमान, कतार, र जापानजस्ता राष्ट्रलाई हराउँदै नेपालले पुनः विश्वकपको ढोका खोलेको हो । ओमानमा भएको क्षेत्रीय छनोटमा अपराजित रहँदै सुपर सिक्सको शीर्ष स्थानमा पुग्नुले नेपाल अब संयोगले होइन, योग्यताले विश्वकप पुग्ने टोली बनेको प्रमाणित भएको छ । यस सफलताको श्रेय दृढ इच्छाशक्ति भएका खेलाडी, कुशल प्रशिक्षक र विश्वभर छरिएर रहेका करोडौँ नेपाली समर्थकको अटुट साथलाई दिनुपर्ने क्रिकेट विश्लेषकहरू बताउँछन् ।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ, जुन समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीजस्ता बलिया प्रतिद्वन्द्वीहरू छन् । विश्व बरीयताको १६औँ स्थानमा रहेको नेपालका लागि तेस्रो बरीयताको इंग्ल्यान्ड र सातौँ स्थानको वेस्ट इन्डिजसँगको भिडन्त निकै चुनौतीपूर्ण हुनेछ । यद्यपि, विगतमा वेस्ट इन्डिजलाई हराएको रेकर्ड र स्कटल्यान्डसँग १२ वर्षपछि लिएको बदलाले नेपाली खेलाडीमा आत्मविश्वास भरेको छ । अर्कोतर्फ, पहिलोपटक विश्वकप खेल्न लागेको इटालीसँगको दोस्रो खेल नेपालका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुनेछ । अनुभवी सोमपाल कामी नेपाली टिममा छन् । उनले नेपालका तर्फबाट तीनवटै विश्वकप खेल्ने कीर्तिमान बनाउँदै छन्, र लेग स्पिनर सन्दीप लामिछानेको उपस्थिति टोलीका लागि मेरुदण्ड सावित हुनेछ । सन्दीपले भर्खरै बंगलादेश प्रिमियर लिगमा देखाएको उत्कृष्ट प्रदर्शन र शेर मल्ल तथा बसिर अहमदजस्ता नयाँ प्रतिभाहरू पनि नेपाल प्रिमियर लिगको मञ्चबाट विश्वकपमा डेब्यु गर्न लाग्दा नेपाली टोली सन्तुलित नै देखिएको छ ।
मुम्बईको वानखेडे रंगशाला नेपाली समर्थकका लागि यसपटकको मुख्य गन्तव्य बन्ने निश्चित छ । करिब ३९ हजार क्षमताको यस ऐतिहासिक मैदानमा हुने नेपालका चारवटै समूह चरणका खेलका लागि टिकटको अत्यधिक माग हुनुले नेपाली क्रिकेटको बढ्दो क्रेजलाई पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका रिपोर्टहरूमा उल्लेख छ । नेपालबाट ठूलो संख्यामा प्रशंसकहरू प्रत्यक्ष खेल हेर्न मुम्बई पुगिसकेका छन् भने विभिन्न ट्राभल एजेन्सीहरूले विशेष प्याकेजसमेत ल्याएका छन् । मुम्बई र वरपरका क्षेत्रमा रहेका नेपालीहरूको उपस्थितिले वानखेडेमा घरेलु मैदानको जस्तै वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । २० टोली सहभागी यस प्रतियोगितामा प्रत्येक समूहबाट शीर्ष दुई टोली मात्र सुपर आठमा पुग्ने प्रावधानले गर्दा प्रत्येक खेल निर्णायक हुनेछ । प्रतिकूल राजनीतिक अवस्थाका कारण पाकिस्तान र बंगलादेशका खेलहरूमा केही अन्योल देखिए पनि नेपालका लागि यो विश्वकप आफ्नो क्रिकेट इतिहासमा नयाँ स्वर्णिम पाना थप्ने ठूलो अवसर हो ।
सीमित स्रोत र साधनका बाबजुद विश्वका दिग्गज राष्ट्रहरूसँग एउटै मैदानमा प्रतिस्पर्धा गर्नु नेपालका लागि आफैँमा ऐतिहासिक उपलब्धि हो । नेपाली टोलीले प्रदर्शन गर्ने अनुशासन, सामूहिक प्रयास र दृढ मनोबलले नतिजा जे आए पनि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने पक्का छ । यो विश्वकप केवल एउटा प्रतियोगिता नभएर युवा पुस्ताका लागि प्रेरणा र नेपाली खेलकुदको भविष्य निर्माणको आधारशीला पनि रहेको कप्तान रोहित पौडेलले बताएका छन् । वानखेडेको पिचमा नेपाली बलरको प्रभावशाली प्रदर्शन र ब्याटरको प्रहारले विश्वको ध्यान तान्ने मात्र होइन, नेपाली क्रिकेट अब विश्व मञ्चमा सधैँका लागि स्थापित भइसकेको सन्देश पनि दिनेछ । सबैको एउटै कामना छ– मुम्बईको मैदानमा नेपाली टोलीको प्रदर्शन अविस्मरणीय रहोस् र नेपाली क्रिकेटको यो विजयी यात्रा निरन्तर अघि बढिरहोस् ।










Facebook Comments