
हेटौँडा । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं निवर्तमान सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ यतिबेला आफ्नो राजनीतिक जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन् । आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवार बनेकी डिनाका लागि यो निर्वाचन केवल एउटा सिटको लडाइँ मात्र होइन, तीन दशक लामो चुनावी असफलताको शृंखला तोडेर जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित हुने अन्तिम अवसर पनि हो ।
२०२१ सालमा चितवनमा जन्मिएकी डिनाको नसा-नसामा राजनीति बगेको छ । उनी जन्मिँदा उनका हजुरबुवा उदयनाथ अधिकारी देशद्रोहको मुद्दामा जेलमा थिए । प्रजातन्त्रका लागि १२ वर्ष कठोर जेल जीवन बिताएका अधिकारी नेपाली कांग्रेस चितवनका जिल्ला सभापतिसमेत रहेका थिए । यही पारिवारिक पृष्ठभूमिले उनलाई सानै उमेरमा राजनीतिप्रति आकर्षित गर्यो । २०३९ सालमा काठमाडौंको पद्मकन्या क्याम्पसमा भर्ना भएसँगै उनी नेविसंघको राजनीतिमा सक्रिय भइन् । २०४२ सालको सत्याग्रह आन्दोलनमा नेतृ शैलजा आचार्यसँगै सात महिना जेल बसेकी डिना २०४३ सालमा पद्मकन्याकै स्ववियु सभापति निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा स्थापित हुन थालेकी हुन् ।
पार्टीको संगठनात्मक संरचनामा डिना सधैँ सफल र प्रभावशाली देखिएकी छिन् । २०४७ देखि २०५७ सम्म नेपाल महिला संघ मकवानपुरको नेतृत्व गरेकी उनी पार्टी विभाजनका बेला कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय सदस्य भइन् । कांग्रेसको चौधौँ महाधिवेशनमा उच्च मतका साथ सह-महामन्त्री पदमा निर्वाचित भएर उनले आफ्नो सांगठनिक पकड प्रमाणित गरिसकेकी छिन् । तर, प्रत्यक्ष निर्वाचनको गणित भने उनका लागि सधैँ प्रतिकूल रहँदै आएको छ ।
उनले यसअघि मकवानपुर-१ र २ बाट गरी चारपटक प्रत्यक्ष निर्वाचनमा पराजय भोगिसकेकी छिन् । २०४८, २०५१ र २०७४ को निर्वाचनमा उनलाई एमालेका विरोध खतिवडाले रोकेका थिए भने २०७९ मा निर्वाचन क्षेत्र परिवर्तन गर्दा पनि राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुनुपर्यो । २०६४ र २०७० मा समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बने पनि प्रत्यक्ष चुनाव जितेर संसद् छिर्ने धोको यसपालि पूरा हुने उनको अपेक्षा छ । जसका लागि उनले राप्रपाका दीपक बहादुर सिंह, एमालेका रामेश्वर राना र नेकपाका विजय गौतमलगायतसँग प्रतिस्पर्धा गर्दै छिन् ।
पार्टीभित्रको आन्तरिक व्यवस्थापन र विरोधी शक्तिहरूको बलियो उपस्थितिका बीच डिनाले यसपटक पनि ‘गर या मर’को स्थितिमा चुनावी कमान्ड सम्हालेकी छिन् । सुरुमा चुनाव नलड्ने मनसाय बनाए पनि पार्टी सभापति देउवा र नेतृत्व तहको ‘यसपटक जितेर आउनुहुन्छ’ भन्ने आश्वासन र दबाबपछि उनी पुनः मैदानमा उत्रिएकी हुन् ।
राजनीतिक अनुभव, निष्ठा र महिला सशक्तीकरणका सवालमा डिनाको कद अग्लो भए पनि चुनावी नतिजाले उनलाई सधैँ ठग्दै आएको छ । विगतका हारबाट पाठ सिक्दै र आफ्ना पुराना गढहरूलाई पुनर्जीवित गर्दै उनी यसपटक मकवानपुर-१ का मतदाताको मन जित्ने दाउमा छिन् । के मकवानपुरका जनताले यसपटक उनको धैर्य र संघर्षको सम्मान गर्दै संसद्को बाटो खोलिदेलान् ? यो आगामी निर्वाचनको सबैभन्दा रोचक पक्ष हुनेछ ।










Facebook Comments