काठमाडौं । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका काठमाडौं महानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले केही दिनअगाडि झापासहित पूर्वी नेपालको भ्रमणमा रहँदा चढेको झन्डै ६ करोड रुपैयाँ पर्ने ल्यान्डरोभर डिफेन्डर गाडी विवादित व्यापारीले भन्सार छलेर नेपाल भित्र्याएको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको समाचारस्रोतले जनाएको छ । पारदर्शिता र जवाफदेहिताको रटान लगाउँदै आएका बालेनले विवादित व्यापारीको करोडौँ मूल्य पर्ने गाडी चढेर रवाफ देखाएको भन्दै व्यापक आलोचना भएपछि  बालेनले उक्त गाडी चढ्न छाडेका थिए । यो गाडीको विषयमा आलोचित भए पनि बालेनले यस बारेमा कुनै प्रस्टीकरण दिएका छैनन् । 

काइरोस इन्टरनेसनललले नेपाल भित्र्याएको बागमती प्रदेश–०१–०३३च४३४३ नम्बरको उक्त गाडी करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीका छोरा रितेश सञ्चालक रहेको त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा रहेको र उक्त गाडी खरिद गर्दा झन्डै ७७ लाख रुपैयाँ राजस्व छली गरिएको रहस्योद्घाटन भएको छ । व्यापारी राकेश अडुकियाले आफ्नो आफन्तको नाममा खोलेको काइरोस इन्टरनेसनल कम्पनीले भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका केही कर्मचारीहरूको साँठगाँठमा राजस्व छल्दै ल्यान्डरोभर डिफेन्डर गाडीहरू भित्र्याउँदै आइरहेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको हो । अडुकिया र कमल मालपानीले पनि नक्कली कागजात र कम भन्सार मूल्य देखाएर गाडी भित्र्याउने कार्यमा साझेदारी गर्दै आएको पनि स्रोतले जनाएको छ । 

ad

अख्तियारले नेपालमा अहिलेसम्म भित्रिएका ल्यान्डरोभर डिफेन्डरको सबै विवरण मगाउँदै भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका केही कर्मचारीहरूलाई समेत छानविनमा दायरामा ल्याएको छ । ज्ञानेश्वरमा कार्यालय रहेको काइरोसले सन् २०२४ देखि हालसम्म आयात गरेका ल्यान्डरोभर कम्पनीका विभिन्न मोडलका १५ वटा सवारी साधनको भन्सार जाँचपासको कागजात र स्पेसिफिकेसनको प्राविधिक विवरण भिडाई चेकजाँच गर्दा भन्सार छली भएको पाइएको समेत स्रोतले दाबी गरेको छ ।