
काठमाडौं । आसन्न फागुन २१ को निर्वाचनमा देशका केही निर्वाचन क्षेत्रमा तालमेल गर्न एमालेका अध्यक्ष केपी ओलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाललाई प्रस्ताव गरे पनि १६४ क्षेत्रमा आफ्ना उम्मेदवारले मनोनयन गरी युद्धस्तरमा प्रचारमा लागिसकेकाले तालमेल सम्भव नभएको जवाफ फर्काएपछि ओली अब के गर्ने कसो गर्ने अवस्थामा पुगेका छन् । समाचार स्रोतका अनुसार अध्यक्ष ओलीले केही दिनअघि प्रचण्ड र नेपाललाई टेलिफोन गरी आफू उठेको झापा– ५ लगायत केही क्षेत्रमा चुनावी तालमेलका लागि प्रस्ताव गरेका थिए, तर सोही टेलिफोन संवादमा नै दुवै नेताले ओलीलाई ‘अहिलेलाई एमालेसँग तालमेलको च्याप्टर क्लोज भएको’ जवाफ फर्काएपछि ओली समस्यामा परेका छन् ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको दोष खेपिरहेको एमालेका लागि आसन्न निर्वाचन चुनौतीपूर्ण बनिरहेको अवस्थामा ओलीले अन्य दलहरूसँग तालमेल गर्ने प्रयास गरिरहेका छन् । नेपाली कांग्रेसले अन्य दलसँग तालमेलको लागि ढोका बन्द गरेको अवस्थामा ओलीले नेकपा र राप्रपालगायत दलहरूसँग तालमेलका लागि कोसिस गरे पनि दुवै दलले अस्वीकार गरेको स्रोतले जनाएको छ । ओलीको पछिल्लो छवि र उनका विवादास्पद अभिव्यक्तिले एमालेसँग गठबन्धन गर्दा पार्टीलाई फाइदाभन्दा घाटा हुने निष्कर्ष पुग्दै ओलीको तालमेलको प्रस्तावलाई अस्वीकार गरेको नेकपानिकट स्रोतले बताएको छ ।
२०७९ को निर्वाचनमा एमाले र राप्रपाबीच झापा क्षेत्र नं ३ र ५ मा तालमेल भएको थियो । झापा–३ मा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेको थियो भने ५ मा राप्रपाले एमालेलाई समर्थन गरेको थियो ।
ओलीको गठबन्धन गर्ने प्रस्ताव आएलगत्तै प्रचण्डले आगामी फागुन २१ गतेको निर्वाचनमा कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएका छन् । नेकपाको सबै जिल्लाका निर्वाचन परिचालन समितिको ‘जुम’ बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले कुनै पार्टीसँग तालमेल र गठबन्धन नगरी पहिलो पार्टी बन्ने दाबीसमेत गरे । ‘जनताबाट अस्वीकृत र तिरस्कृतहरूसँग हाम्रो गठबन्धन हुँदैन,’ उनको भनाइ थियो ।










Facebook Comments