काठमाडौं । फागुन २१ मा चुनाव हुन्छ कि भन्ने सर्वत्र आशंका र द्विविधा रहिरहेकै बेला जेनजी विद्रोहलाई सम्बोधन गर्न र उपलब्धिहरूलाई संस्थागत गर्न घोषित मितिमा चुनाव हुनैपर्ने नेपाली कांग्रेसको अडान, कांग्रेसले सरकार र अन्य राजनीतिक दलहरूसँग गरेको संवाद अनि विशेष महाधिवेशन गरी पार्टीभित्रै नीति र नेतृत्वमा दुवै परिवर्तन गरी चुनावमा होमिएपछि देशमा जसरी चुनावको वातावरण तयार भयो, त्यसले अहिले देशभर चुनावी सरगर्मी ह्वात्तै बढाएको छ भने सरकार र अन्य दलहरूलाई पनि चुनावको विकल्प रहेनछ भन्ने सन्देश दिँदा यतिबेला के गाउँ, के सहर, के पहाड, के तराई मधेश, के हिमाली क्षेत्र, जताततै चुनावले छोएको छ, उम्मेदवार मत माग्न व्यस्त छन्, मतदाताहरू आफ्ना उम्मेदवार र उनीहरूका एजेन्डा बुझ्न व्यस्त छन् । 

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्यतालिका रहेका कारण ठूला आमसभाहरू नगरी विशेषगरी दलका उम्मेदवारहरू अहिले आन्तरिक भेटघाट, छलफलसँगै हरेक तहमा निर्वाचन परिचालन र प्रचारप्रसार समिति गठन गर्दै नेता तथा कार्यकर्ताहरूको सुझावमा रणनीतिक योजनाहरू बनाई चुनावी नतिजा आफ्नो पक्षमा ल्याउने ध्याउन्नमा व्यस्त छन् । 

ad

चुनावी माहौल तातिँदै जाँदा देशभर नेपाली कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको छ । पछिल्लो समय भएका भेटघाट, अन्तरक्रिया, आमसभा तथा संगठनात्मक गतिविधिले कांग्रेसप्रति जनआकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले प्रचार–प्रसार, संगठन विस्तार, घरदैलो अभियान, युवा तथा महिला परिचालनलगायत विभिन्न समितिहरू सक्रिय बनाउँदै स्पष्ट कार्ययोजना र जिम्मेवारीसहित मैदानमा परिचालन गरेको छ । स्थानीय तहसम्म पुगेर नागरिकका समस्या, गुनासा र अपेक्षा सुन्ने तथा कांग्रेसका नीति, कार्यक्रम र विकासका एजेन्डा जनतामाझ प्रस्तुत गर्ने रणनीति कांग्रेसले तय गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाएर मतदातासँग संवाद गरिने कांग्रेस नेताहरूले बताएका छन् । विगतका आन्तरिक मतभेदलाई थाती राख्दै नेतृत्व तहदेखि सामान्य कार्यकर्तासम्म सिंगो कांग्रेस एकजुट भएर चुनावी मैदानमा होमिएकाले पार्टीभित्र नयाँ ऊर्जा थपिएको कांग्रेसका नेता तथा कार्यकर्ताहरू बताउँछन् ।  

तोकिए कांग्रेसका कमान्डर 

नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी जिल्ला सभापतिबाहेकका नेताहरू अब आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर जान नपाउने व्यवस्थासहित ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ विशेष रणनीति लागू गरेको छ ।

निर्वाचन परिचालन निर्देशिकाअनुसार अब नेताहरू जसको जिम्मेवारी जहाँ छ, त्यहीँ खटिनुपर्छ, आफ्नो क्षेत्रमा पार्टीको अवस्था बलियो बनाउन नेताहरू खटिन्छन् भनेर योे व्यवस्था लागू गरिएको र पार्टीका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू फागुन २१ गतेसम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने कांग्रेस नेताहरूले बताएका छन् । 

यसैबीच कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशका जिल्लाहरूमा पार्टीको अवस्थामा बुझ्नका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशभित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताएका छन् । 

कांग्रेसले बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जितनारायण श्रेष्ठ र डा. अमिता प्रधानलाई खटाएको छ । यस्तै, काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जिपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई जिम्मेवारी दिएको छ । भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे र धर्मराज गौतमलाई कांग्रेसले खटाएको छ । 

यस्तै, कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर, झापा, संखुवासभा, तेह्रथुम भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा सहमहामन्त्री डा. डिला संग्रौला, भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा, अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी खटिएका छन् ।

यस्तै, कोशीकै सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सिराहा र सप्तरीमा वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी खटिएका छन् । यस्तै, गण्डकी प्रदेशको पर्वत, म्याग्दी, मुस्ताड र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुड, कृष्णबहादुर केसी र चिनु पोखरेल खटिएका छन् भने स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल खटिएका छन् । यस्तै, गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी खटिएका छन् ।

लुम्बिनी प्रदेशको रूपन्देही, पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, रुकुमपूर्व, प्युठान र रोल्पाका लागि डा. गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह, कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई र केशव आचार्य खटिएका छन् । लुम्बिनीकै दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रंगमती शाही खटिएका छन् ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिनालाई कांग्रेसले खटाएको छ भने कैलाली र डडेलधुराका लागि जगत्प्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड खटिएका छन् । डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्ट खटिएका छन् । 

यसपटक हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचनमा ७७ वटा जिल्लाका १६५ निर्वाचन क्षेत्रमा देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । जसमा कुल मतदातामध्ये पुरुषको संख्या ९६ लाख ६३ हजार ३५८  र महिला को संख्या ९२ लाख ४० हजार १३१ रहेका छन् । अन्य मतदाताको संख्या भने २०० रहेको छ ।