
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गरेका छन् ।
शुक्रवार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले रास्वपा लक्षित व्यंग्य गरेका हुन् । मुलुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने भन्दै शर्माले त्यसको लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी गरे ।
उनले २३ र २४ भदौको जेन-जी आन्दोलनपछि पनि नेपाली काँग्रेसबाहेक कुनै पनि दल सुदृढ भएर जनतामाझ जान नसकेको टिप्पणी समेत गरे । उनले एमालले जेन-जी आन्दोलनपछि पार्टी विधान संशोधन गरेर दुईपटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीनपटक पनि अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी गरे । विभिन्न दलहरुप्रति कटाक्ष गर्दै उनले परिवर्तनको दाबी गरेका कतिपय दलहरु अहिले पनि जनताको भावनाअनुसार चल्न नसकेको बताए ।
नेपाली काँग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत पार्टीको नीति समेत परिवर्तन गरेकाे उनले बताए । काँग्रेसले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवाको नेतृत्वमा देशका समस्याको गहिरो विश्लेषण गरेर अघि अघि बढेको उनको भनाइ छ ।
उनले भने, ‘जेन–जी आन्दोलनपछि एमालेले विधान बदल्यौँ भन्छ । विधानमा के बदल्यौ ? भन्दा उसले हाम्रो बा दुईपटक अध्यक्ष भइसकेपछि रिटायर्ड हुन लाग्नुभएको थियो । विधानले रोक्दै थियो । विधानलाई बदेलेर तीन पटक पनि अध्यक्ष हुने व्यवस्था गर्यौँ भनेर एमालेले भन्ने अवस्था छ । म गाली वा आलोचना गरिहरहेको छैन । तथ्य त्यही हो । माओवादीले नाम बदल्यौँ र २९ वटा पार्टीको मोर्चा बनाएका छौँ भन्छ । काँग्रेसलाई के बदल्यौ ? भनेर सोध्दै गर्दा हामीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवकको नेतृत्वमा सारा नेपाली समस्याको एमआरआईबाट डाइग्नोसिस गरेर आएको अवस्थामा बद्लिएका छौँ । अनि रास्वपाले करारमा प्रधानमन्त्री पद नियुक्त गर्नेगरी सल्लाह गरेका छौँ भन्छ । करारमा कर्मचारी नियुक्ति त सुनिएको तर आज देशको प्रधानमन्त्री बनाउने भनेर जाँदै गर्दा फाउण्डेसनमा केही हुनुपर्यो । गगन थापाले काँग्रेसको चारतारे झण्डा बोकेर दरबारको अघिल्तिर संविधानमुनि नबस्ने हो भने जमिनमुनि बस्ने दिन आउला गणतन्त्र जिन्दावाद भनेर नारा लाउँदै गए यो चारतारे झण्डामा फाउण्डेसनको तल उहाँ हुनुहुन्थ्यो ।’
उपसभापति शर्माले मुलुकको व्यवस्था स्थापित गर्न लामो समयसम्म सघंर्ष गरेको नेतृत्वले पार्टी चलाइरहेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्न काँग्रेसलाई मतदान गर्न समेत अपिल गरे ।










Facebook Comments