काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहरूको तर्फबाट दिगो विकासलाई केन्द्रमा राखिएको साझा प्रतिबद्धता सार्वजनिक गर्ने तयारी थालेका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरूलाई एउटै विकास एजेन्डामा जोड्ने उद्देश्यका साथ उक्त पहल अघि बढाइएको हो।

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पौडेलले उपत्यकाको समग्र विकासका लागि आगामी पाँच वर्षमा प्राथमिकताका साथ अघि बढाइने योजनाको खाका तयार पार्ने काम गरिरहेका छन्। राजधानीको दीर्घकालीन समस्या समाधान गर्न व्यक्तिगत क्षेत्रभन्दा माथि उठेर सामूहिक प्रतिबद्धता आवश्यक रहेको उनको धारणा छ।

ad

यसक्रममा उनले संघीय राजधानीसँग जोडिएका यातायात, भौतिक पूर्वाधार, सहरी व्यवस्थापन लगायतका विषयमा उपत्यकाभरका कांग्रेस उम्मेदवारहरूसँग निरन्तर परामर्श गरिरहेका छन्। परामर्शपछि निष्कर्षमा पुगेका साझा बुँदाहरूलाई एकीकृत दस्तावेजका रूपमा सार्वजनिक गरिने तयारी गरिएको उनले जानकारी दिए।

'संघीय राजधानीभित्र विभिन्न जिल्ला र निर्वाचन क्षेत्र छन्,' पौडेलले भने, 'आफ्नो क्षेत्र मात्र हेर्ने सोचबाट बाहिर निस्केर साझा विकासको दृष्टिकोण बनाउन सके नागरिकसँग जान पनि सजिलो हुन्छ र निर्वाचित भएपछि काम गर्न अझ प्रभावकारी हुन्छ।'

महामन्त्री पौडेल यसअघि सांसद रहँदा पनि उपत्यकाको साझा पूर्वाधार विकासका विषयमा सक्रिय देखिएका थिए। विशेष गरी काठमाडौं उपत्यकाको रिङरोड विस्तार र सुधारका लागि उनले उपत्यकाभित्रका सांसदहरू र सरकारसँग समन्वय गर्दै दबाबमूलक पहल गरेका थिए।

त्यसैको परिणामस्वरूप अहिले काठमाडौं उपत्यकाभित्र रिङरोड विस्तार तथा व्यवस्थापनसम्बन्धी योजनाहरू कार्यान्वयनको चरणमा पुगेका छन्।