
काठमाडौं । रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्यन्तै स्तब्ध र मर्माहत भएको जनाएको छ।
रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा हिजो रौतहट क्षेत्र नं २ रास्वपाका उम्मेदवार सगीर आलमको बा१५च ४२४४ कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी इशनाथ–४ मठियाटोलकी चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो ।
रास्वपाले आज विज्ञप्ति जारी गर्दै मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै पार्टीले घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाएको छ। विज्ञप्तिमा रास्वपाले घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने बताएको छ।
विज्ञप्तिमा कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी नराख्ने भन्दै पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको समेत उल्लेख छ ।










Facebook Comments