काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप देशभरि नै लगाउने भएको छ । 

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आगामी फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने बताए । 

ad

सरकारले गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालयबाहिरका किशोरीलाई सोही अभियानअन्तर्गत खोप लगाइने उनले बताए । 

छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइने र खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको प्रमुख डा गौतमले बताए ।

‘प्रादेशिक कार्यालयबाट जिल्ला कार्यालयमा खोप पुर्‍याइसकिएको छ,’ उनले भने । सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई उक्त खोप लगाएको थियो ।

शाखा प्रमुख डा. गौतमले खोप अभियानअन्तर्गत करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने बताए । खोपका लागि ग्लोबल एलायन्सको सहयोग प्राप्त भएको उनले जानकारी दिए ।