काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा र एकै चरणमा सम्पन्न हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेकी छन्।

जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइको प्रेस अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सर्ने वा दुई चरणमा हुने कुनै सम्भावना नरहेको स्पष्ट पारिन्। उनले निर्वाचन अवधिमा देशभरको मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै मतदाताले कुनै अवरोधविना मतदान गर्न पाउने बताइन्।

ad

निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधि सभालाई सरकारको जिम्मेवारी हस्तान्तरण गरिने र वर्तमान सरकार घर फर्किने उनले उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस्। निर्वाचन एकै दिन हुन्छ, दुईपटक हुँदैन। तोकिएकै मितिमा हुन्छ। मौसम पनि अनुकूल रहनेछ र सबैले सहज रूपमा मतदान गर्न पाउनुहुनेछ। निर्वाचनपछि निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरेर हामी घर फर्किन्छौँ।’

यसअघि प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि छापिँदै गरेका मतपत्रको प्रगतिबारे जानकारी लिन जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानाको अवलोकन निरीक्षण गरेकी थिइन्।

त्यसअवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारीहरू पनि उपस्थित थिए।