काठमाडौं । रौतहट २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलमको गाडीको ठक्करबाट चार वर्षीय बालिकाको ज्यान गएको छ ।

क्षेत्र नं २ अन्तर्गत इशनाथ नगरपालिका–४, मठिया टोल स्थित मस्जिद नजिकै खेल्दै गरेको मोहमद सगिरको चार वर्षीय छोरी अल्फा खातुनलाई बा१५ च ४२४४ नंको कारले बिहीबार दिउँसो २ः३० बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए । 

ad

कारको ठक्करबाट घाइते बालिकालाई उपचारको लागि चालकले सिटी अस्पताल गौरमा पुर्‍याई फरार भएको उनले जानकारी दिए । 

घाइते बालिकालाई थप उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएकोमा उपचारको क्रममा २ः४५ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कारले ठक्कर दिएको समयमा आफू मठिया टोलमै घरदैलोमा रहेको र कारमा चालक मात्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आलमले दाबी गरे । 

चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।