काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा त्यसको अनुपातिक असर नपरेको पाइएको छ । भाउ बढ्दा तत्कालै मूल्य बढाउने तर घट्दा नघटाउने नगर्ने प्रवृत्तिले सुनचाँदी व्यवसायीप्रति उपभोक्ताको असन्तुष्टि फेरि एकपटक सतहमा आएको छ ।

जनवरी २८ (१४ माघ) मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔन्स ९३१.१ ग्राम सुनको मूल्य हालसम्मकै उच्च ५ हजार ४ सय १५ अमेरिकी डलरमा बन्द भयो । सो दिन सुनको मूल्य एकैदिन २३५.५४ डलरले बढेको थियो, जुन नेपाली रुपैयाँमा झन्डै ३४ हजार ४ सय ९७ रुपैयाँ पर्न आउँछ । यही वृद्धिलाई आधार मानेर नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढाउँदै ३ लाख ३९ हजार ३ सय तोक्यो ।

ad

तर त्यसपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घट्दासमेत नेपाली बजारमा भने सोही अनुपातमा मूल्य नघटाइएको देखिन्छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔन्स ३६.५४ डलरले घट्यो । त्यसको भोलिपल्ट महासंघले शुक्रबार प्रतितोला २० हजार ५ सय रुपैयाँ घटाएर ३ लाख १८ हजार ८ सय कायम गर्‍यो ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा झनै ठूलो गिरावट आयो । प्रतिऔन्स ४८४.२३ डलर अर्थात् करिब ७१ हजार १ सय रुपैयाँले मूल्य घट्यो । यो गिरावट नेपालमा आइतबार समायोजन गरिँदा प्रतितोला जम्मा १८ हजार ८ सय रुपैयाँ मात्रै घटाइयो । त्यसपछि सोमबार थप १३ हजार ४ सय रुपैयाँ घटाइए पनि अन्तर्राष्ट्रिय बजारको गिरावटसँग नेपाली बजारको समायोजन मेल खाएन ।

गत साता बिहीबारदेखि यो साता बुधबारसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔन्स मूल्य कुल ७५८.५३ डलर अर्थात् करिब १ लाख ११ हजार ३ सय ३८ रुपैयाँले घटेको छ । यही अवधिमा महासंघले भने प्रतितोला जम्मा ५२ हजार ७ सय रुपैयाँ मात्र घटाएको देखिन्छ ।

सामान्यतया अन्तर्राष्ट्रिय बजारमा एक दिनअघि कायम भएको मूल्यका आधारमा नेपालमा अर्को दिन सुनको मूल्य समायोजन गरिन्छ । तर पछिल्लो साता देखिएको मूल्य निर्धारणको ढाँचाले भने “बढ्दा तुरुन्त बढाउने, घट्दा ढिला र कम घटाउने” पुरानै आरोपलाई बल दिएको छ ।

महासंघका अध्यक्ष अर्जुन रसाइली अन्तर्राष्ट्रिय बजारको रियल टाइम मूल्य, डलर विनिमय दर, बैंकको प्रिमियम, भारतीय बजारको अवस्था र भन्सार शुल्कका कारण मूल्य फरक पर्ने बताउँछन् । उनका अनुसार महासंघले बिहान १०ः३० बजे कायम भएको अन्तर्राष्ट्रिय मूल्यलाई आधार मानेर मूल्य निर्धारण गर्छ ।

तर नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार बैंकहरूले सुन रियल टाइम अन्तर्राष्ट्रिय मूल्यका आधारमा बिक्री गर्ने हुँदा खुद्रा मूल्य निर्धारणमा ठूलो अन्तर देखिनु स्वाभाविक हो । यद्यपि उनले पनि 'बढ्दाखेरी बढी नै बढ्ने र घट्दाखेरी बाहिर जति घट्छ, यहाँ त्यति नघट्ने' प्रवृत्ति रहेको स्वीकार गर्छन् ।

नेपालमा सुन आयातमा १० प्रतिशत भन्सार, बैंक र व्यवसायीको मार्जिन गरी सामान्यतया अन्तर्राष्ट्रिय बजारभन्दा करिब ११ प्रतिशत महँगो पर्नु स्वाभाविक मानिन्छ । तर पछिल्लो साता देखिएको तीव्र उतारचढाव र महासंघले निर्धारण गरेको मूल्यबीचको अन्तरले भने व्यवसायीको तर्कभन्दा बढी जालझेलको आशंका जन्माएको छ ।

अझ महासंघले पछिल्लो साता सुनको उतारचढावसम्बन्धी विस्तृत तथ्यांक आफ्नो वेबसाइटमा पारदर्शी रूपमा सार्वजनिक नगर्नुले शंकालाई थप बल पुर्‍याएको छ । यही कारण उपभोक्तामाझ सुनको मूल्य निर्धारणमा पारदर्शिता र जवाफदेहिता माग पुनः चर्किन थालेको छ ।