काठमाडौँ । देश निर्वाचनको संघारमा पुगिसक्दा पनि नेकपा एमालेभित्र संसद् पुनःस्थापनाप्रतिको आश पूर्ण रूपमा मरेको छैन। निर्वाचन प्रक्रियामा सहभागी भएजस्तो देखिए पनि पार्टीभित्र भने आगामी चुनावबाट अपेक्षित नतिजा नआउने संकेतले नेताहरूलाई असहज बनाएको देखिन्छ। यही कारण संसद् पुनःस्थापनाको मुद्दामा सर्वोच्च अदालतको ढिलासुस्तीप्रति एमाले नेताहरू खुलेर असन्तुष्टि जनाइरहेका छन्।

संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहँदा लामो समयसम्म फैसला नआउनु रहस्यमय भएको एमालेको बुझाइ छ। पार्टीका नेताहरूले अदालतले तत्काल निर्णय दिनुपर्ने भन्दै दबाब बढाइरहेका छन्। एमाले सचिव महेश बस्नेतले सर्वोच्च अदालत निर्णय गर्न डराइरहेको आरोप लगाउँदै न्यायिक प्रक्रियामा अनुचित प्रभाव परेको दाबी गरेका छन्।

ad

बुधबार आयोजित उम्मेदवारसँगको संवाद कार्यक्रममा बोल्दै बस्नेतले संसद् विघटनको विषयमा अदालतले ढिलाइ गर्नु अस्वीकार्य भएको बताए। उनका अनुसार न्यायिक प्रक्रिया कुनै डर, दबाब वा प्रलोभनबाट निर्देशित हुनु हुँदैन। महाभियोगको सम्भावना र आन्तरिक–बाह्य दबाबका कारण न्यायाधीशहरू निर्णयबाट पन्छिन खोजिरहेको अवस्था देखिएको उनले आरोप लगाए। प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरू विभिन्न बहानामा अनुपस्थित हुने प्रवृत्तिले मुलुक गम्भीर संकटतर्फ धकेलिएको अनुभूति भएको उनको भनाइ छ।

एमालेले संसद् विघटनविरुद्ध सर्वोच्चमा दायर रिटको तत्काल टुंगो लगाउनुपर्ने माग गर्दै आएको छ। नेताहरूको भनाइमा यदि संसद् पुनःस्थापना भयो भने निर्वाचन प्रक्रिया आवश्यक नपर्न सक्छ, तर अदालतबाट त्यसविपरीत फैसला आएमा पार्टी पूर्ण रूपमा निर्वाचनमा सहभागी हुनेछ।

पार्टी उपाध्यक्ष रामबहादुर थापाले पनि संसद् पुनःस्थापनासम्बन्धी मुद्दाको सुनुवाइमा भइरहेको ढिलाइप्रति आपत्ति जनाए। संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै उनले फागुन २१ अघि नै अदालतले निर्णय दिनुपर्ने तर्क राखे।

यसैगरी एमाले सचिव डा. राजन भट्टराईले नीतिगत रूपमा पार्टी अझै संसद् पुनःस्थापनाकै पक्षमा रहेको स्पष्ट पारे। संसद् पुनःस्थापना भए संविधान र लोकतन्त्रलाई कम जोखिमसहित सही बाटोमा फर्काउन सकिने उनको भनाइ छ। निर्वाचनबाट नभाग्ने स्पष्ट गर्दै उनले जनतामाझ आफ्ना नीति, कार्यक्रम र विगतका कामका आधारमा अनुमोदन लिन एमाले तयार रहेको बताए।

एमाले नेता ईश्वर पोखरेलले भने पार्टीलाई कमजोर पार्न देशभित्र र बाहिरबाट षड्यन्त्र भइरहेको आरोप लगाए। यस्ता प्रयासलाई निष्क्रिय पार्न पार्टीले आन्तरिक एकतालाई सुदृढ बनाइरहेको उनले बताए। आन्तरिक एकता कमजोर हुँदा बाह्य शक्तिले खेल्ने अवसर पाउने भएकाले एकतामै जोड दिइएको उनको भनाइ छ। साथै, आसन्न निर्वाचनका लागि चुनावी घोषणा पत्र तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि उनले दिए।

एमाले नेताहरूका पछिल्ला अभिव्यक्तिहरू पार्टीभित्र भइरहेको आन्तरिक छलफल र अध्यक्ष केपी शर्मा ओलीको धारणा अनुकूल देखिन्छन्। ओलीले पनि संसद् पुनःस्थापनालाई नै वर्तमान राजनीतिक संकटको मुख्य निकासको रूपमा प्रस्तुत गर्दै आएका छन्।

निर्वाचनको तयारीसँगै संसद् पुनःस्थापनामार्फत समस्याको समाधान खोज्ने एमालेको दोहोरो रणनीति अहिले प्रस्ट रूपमा देखिन थालेको छ।