
काठमाडौं । घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।
पोखरा रंगशालास्थित अन्तरराष्ट्रिय फुटबल रंगशालामा आज लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई निरास पार्ने क्रममा बंगलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
बंगलादेशलाई जित दिलाउन अल्पी अख्तरले ह्याटिक गरिन् । खेल सुरु भएको तेस्रो मिनेटमै प्रोतिमा मुण्डाको गोलमार्फत अग्रता बनाएकामा पहिलो हाफको इन्जुरी समयमा अक्तरले अग्रता दोब्बर पारिन् ।
नेपाल पहिलो हाफमा दुई गोलले पछि परेपछि दोस्रो हाफमा खेलमा फर्कन संघर्ष गरिरहेको थियो । खेलको ६७औँ मिनेट र ८२औँ मिनेटमा अख्तरले गोल गरेपछि बंगलादेश फाइनलमा पुग्न सफल भयो ।
लिगका तीनवटै खेल जितेर शीर्ष स्थानमा रहन सफल भएको बंगलादेशले अब प्रतियोगिताको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
भारतले आजै सम्पन्न लिगचरणको पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो । प्रतियोगितामा दुई जित र एक हार बेहोरेको भारत ६ अंक जोडेर फाइनल पुगेको हो । लिग चरणका शीर्ष दुई टोली भारत र बंगलादेशकाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको दुई खेलमा हार र एउटामा जित निकालेको नेपालले तीन अंक जोड्दा भुटानले कुनै पनि अंक जोड्न सकेन ।










Facebook Comments