
डालस (अमेरिका) । नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको डालस डालस फोटवर्थ च्याप्टरको नवनिर्वाचित कार्यसमितिले शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँग्रेसको भातृ संस्थाको रूपमा रहेको नेजस डिएफडब्लु च्याप्टरको गत डिसेम्बरमा अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनले उज्ज्वल खत्री सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । खत्रीको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले गत आइतबार डालसमा समाज र सङ्गठनमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको हो ।
आइतबार सम्पन्न कार्यक्रममा सुन्दर कर्माचार्य, अमृत सापकोटा, भगवान् मैनाली, ओम भट्टराई तथा ज्ञानेन्द्र कार्कीलाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवा व्यक्तित्वहरू, नेपाली काँग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका क्रममा सभापति खत्रीले नेपाली जनसम्पर्क समिति डिएफडब्लु च्याप्टरको समितिको औपचारिक पदभार ग्रहण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खत्रीले नेपाली काँग्रेसलाई समयानुकूल रूपान्तरण गर्दै जनताको भरोसायोग्य राजनीतिक शक्ति बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले “बदलिएको काँग्रेस, बदलिन्छ देश” भन्ने नारालाई व्यवहारमा उतार्न प्रवासमा रहेका सबै कार्यकर्ता, शुभेच्छुक तथा युवाहरूलाई सङ्गठित भएर लाग्न आह्वान गरेका छन् ।
हालै सम्पन्न विशेष महाधिवेशनबाट नेपाली काँग्रेसको नेतृत्व परिवर्तन भएपछि नेपाली जनसम्पर्क समिति अमेरिकाले औपचारिक रूपमा गरेको यो नै पहिलो कार्यक्रम हो ।
सभापति खत्रीले पार्टीभित्र अनुशासन, पारदर्शिता र जबाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए । साथै, प्रवासमा रहेर पनि मातृभूमिको समृद्धि, लोकतन्त्रको संरक्षण तथा नेपाली काँग्रेसको सुदृढीकरणका लागि निरन्तर योगदान आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमको सञ्चालन समितिका कोषाध्यक्ष राजु कोइरालाले गरेका थिए उपाध्यक्ष मधुर खरेलले स्वागत मन्तव्य व्यक्त राखेका थिए ।

यसै अवसरमा सचिव आकाश अधिकारीले चालु वर्षका लागि सङ्गठनको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेता ज्ञानेन्द्र कार्कीले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै आगामी निर्वाचनमा अझ बलियो, सङ्गठित र प्रभावकारी रूपमा अघि बढ्न सबैलाई आग्रह गरे ।

११ वर्ष पछि गत डिसेम्बरमा सम्पन्न समितिको चौथो अधिवेशन खत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको थियो ।










Facebook Comments