
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ ।
टर्किस एयरलाइन्सको उडान नम्बर टीएचवाई–७२७ बुधबार दिउँसो १ः२८ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो । उडान भएको करिब ४ मिनेटमै जहाजको दायाँ इन्जिनमा आगलागी भएको खबर आएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
‘उडेको चार मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको जानकारी क्याप्टेनले दिएका थिए,’ महाप्रबन्धक सिटौलाले भने, ‘त्यसपछि चालकदलले जहाजलाई पश्चिम दिशातर्फ लैजाँदै दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेटसम्म होल्ड गरेका थिए ।’
उनका अनुसार टर्किसको ए३३०–३०३ सिरिजको वाइड बडी जहाजमा २२५ जना यात्रु सवार थिए ।
आगलागीको खबर प्राप्त हुनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो । ‘दमकल, एम्बुलेन्सलगायत आवश्यक सबै सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेर विमानस्थल बन्द गरेका थियौं,’ सिटौलाले भने, ‘तर चालकदलले जहाजलाई भारतको कोलकाता डाइभर्ट गर्ने जानकारी दिएपछि त्यसको अनुमति दिइयो ।’
महाप्रबन्धक सिटौलाका अनुसार दायाँ इन्जिन बन्द गरेलगत्तै आगो नियन्त्रणमा आएको थियो । त्यसपछि बायाँ इन्जिन मात्र प्रयोग गरेर जहाजलाई सुरक्षित रूपमा कोलकातातर्फ डाइभर्ट गरिएको हो ।
‘उक्त जहाज अहिले कोलकातामा सुरक्षित अवतरण भइसकेको छ,’ उनले भने, ‘त्रिभुवन विमानस्थल पनि अहिले सामान्य रूपमा सञ्चालनमा आइसकेको छ ।’










Facebook Comments