
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब कांग्रेसबाट कोही पनि नागरिकले टाढा रहेको महसुस गर्नु नपर्ने दाबी गरेका छन् । पार्टीमा नलागेकादेखि पार्टी छोडेकाहरूलाई कांग्रेसमा सक्रिय हुन आह्वान गर्दै उनले सबैको विश्वास बोक्ने पार्टी बनेर देशमा परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।
बदलिएको कांग्रेसले रुखको छहारीमा बस्दैमा कानुन उल्लंघन गर्नेलाई संरक्षण नदिने उनले बताए । आममानिसको विषय प्राथमिकतामा रहने भन्दै उनले कानुन उल्लंघन हुँदा रुखको छहारीमा बस्ने हो कि अर्को हो भन्ने पद्धति अन्त्य हुने बताए ।
‘नेपाली कांग्रेस कानुन उल्लंघन गर्ने व्यक्ति रुखको छहारीमा बसेको रहेछ भने त्यसको संरक्षण गर्दैन,’ थापाले भने, ‘नेता होस्, नाताको होस् कानुन उल्लंघन गर्नेले संरक्षण पाउँदैन ।’
उनले आमनागरिकको विश्वासले फैलँदै जाने विश्वास गर्दै उनले नेपालका पार्टी बदलेर युवालाई लिएर हिँड्ने पार्टी बनाउन जेनजीको आह्वान अनुरुप पार्टी बदलेकोले साथ दिन आह्वान गरे ।
‘तपाईंले युवाहरूलाई साथ लिएर हिँड्ने पार्टी बनाउने आह्वान गर्नुभएको थियो । तपाईंको आह्वानलाई समर्थन र स्वीकार गर्दै ठूलो जोखिम मोलेर कांग्रेस बदलेका छौँ,’ थापाले भने, ‘तपाईं व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्नुहुन्छ । तपाईंको विश्वासलाई समर्थन गदै तपाईंसँग आएका छौँ । अब एकपटक हामीलाई साथ दिनुस् । तपाईंसहितको साथले बदलिएको कांग्रेसले देशलाई बदल्नेछ ।’










Facebook Comments