
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चार दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएका थिए। उनले सो समारोहलाई सम्बोधन गरेका थिए।
त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए।
उनीसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरे। भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरुको कार्यक्रमलाई पनि उनले सम्बोधन गरे। उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकन समेत गरेका थिए।
नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले राष्ट्रपतिको जापान भ्रमणका क्रममा दुई देशबीचको आपसी हितलाई थप मजबुत बनाउने विषयमा महत्त्वपूर्ण छलफल भएको जानकारी दिएका छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणको विवरण सार्वजनिक गर्दै उनले व्यापार, लगानी, स्वास्थ्य, कृषि र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहयोग बढाउने सहमति भएको बताए।
सचिव राईका अनुसार राष्ट्रपतिले जापानसँगको ७० वर्षे कूटनीतिक सम्बन्धलाई आर्थिक समृद्धिसँग जोड्न विशेष चासो देखाएका छन्। विशेष गरी मानव संशाधन विकास र वातावरण संरक्षणका क्षेत्रमा जापानी प्रविधि र सहयोग भित्र्याउने विषयमा भ्रमण केन्द्रित रहेको उनले उल्लेख गरे।
भ्रमणका क्रममा राष्ट्रपतिले नेपालका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने र द्विपक्षीय व्यापार एवं पर्यटन विस्तार गर्ने ठूलो सम्भावना रहेको औँल्याएका छन्। सचिव राईका अनुसार राष्ट्रपतिले जापानमा बसोबास गरिरहेका नेपालीहरूको भूमिकालाई पनि महत्त्वपूर्ण मानेका छन्।
विदेशमा रहेका नेपालीहरूले नेपालको पर्यटन प्रवद्र्धन र लगानी भित्र्याउन सेतुको काम गर्न सक्ने राष्ट्रपतिको विश्वास छ। जापानका उच्च अधिकारीहरूसँगको भेटमा नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको सन्देश प्रवाह गरिएको र यसले सकारात्मक नतिजा ल्याउने अपेक्षा परराष्ट्र मन्त्रालयले गरेको छ।
राष्ट्रपतिले नेपाल र जापानबीचको सम्बन्ध पारस्परिक सम्मान, विश्वास र समझदारीमा आधारित रहेको भन्दै हालको सौहार्दपूर्ण अवस्थाप्रति खुसी व्यक्त गरेका छन्। परराष्ट्र सचिव राईले यो भ्रमणले दुई मुलुकबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको दाबी गरे।
जापानले नेपालको पूर्वाधार र शिक्षा क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसलाई अझ फराकिलो बनाउन जापानी पक्ष सकारात्मक देखिएको उनले बताए।










Facebook Comments