
भक्तपुर । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर २ का उम्मेदवार कबिर राणाको प्रचार प्रसारका लागि सूर्यविनाकका १० र मध्यपुरका ९ गरी १९ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
वुधवार विहान ७–९ बजेको समयमा नेपाली कांग्रेस भक्तपुरका नेताहरुले एकै पटक सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।
समग्र क्षेत्र नम्बर २ का लागि ८ हजार ७१ सदस्यीय मूल चुनाव परिचालन समिति पूर्व सभापति गणेशमान चक्रधरको संयोजकत्वमा गठन गरि सकिएको छ ।
यसैगरी, प्रचार समितिको संयोजकमा जिल्लाका नेता सुरेन्द्र केसी रहेका छन् । त्यस्तै आर्थिक समितिको जिम्मा जिल्ला सहसचिव कृष्णमुरारी न्यौपाने रहेका छन् ।

यसैगरी, युवा विद्यार्थी परिचालनका लागि तरुण दलका केन्द्रीय सदस्य राजु थापा संयोजक र नेविसंघका जिल्ला अध्यक्ष वद्री थापालाई सहसंयोजक बनाइएको छ । यस्तै, जिल्ला उपसभापति उर्मिला वनको संयोजकत्वमा महिला परिचालन समिति गठन गरिएको छ ।
औपचारिकरुपमा घरदैले अभियान फागुन ४ गतेदेखि गर्न पाइने आचार संहितामा उल्लेख भए अनुसार अहिले उम्मेदवारले वडामा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
उम्मेदवार राणाले मतदाताका घरसम्म पुग्ने र उनीहरुका समस्या समाधानका लागि आफूले एजेन्डा तय गरेर चाँडै घोषणा पत्र पनि सार्वजनिक गर्ने बताएका छन् ।
भदौ २३–२४ को जेनजी विद्रोहपछि हुन लागेको चुनावमा आफूले युवाहरुका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेको राणाले जानकारी दिए ।
यसैगरी शान्ति र सुशासनका विषयमा कसैसँग सम्झौता नहुने पनि उल्लेख गरे । भक्तपुर निर्वाचन क्षेत्रमा नम्बर २ मा ९८ हजार ३ सय ५६ जना मतदाता रहेका छन् ।
जसमध्ये ४८ हजार ७४ जना पुरुष र ५० हजार २ सय ७७ जना महिला छन् भने अन्य मतदाताको संख्या ५ जना रहको छ ।













Facebook Comments