
काठमाडौं । आज विश्व क्यान्सर दिवस, क्यान्सर रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ ।
विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले निःशुल्क क्यान्सर परीक्षण गर्नुका साथै पुल्चोकदेखि मंगलबजारसम्म जनचेतना र्याली निकालेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले क्यान्सर उपचार क्षेत्रमा हालको लगानी पर्याप्त नभएको बताए । उनले विभिन्न अस्पतालहरूको सहकार्यमा क्यान्सर उपचार सेवा देशभर विस्तार गर्ने प्रयास भइरहेको जानकारी दिए।
कार्यक्रममा क्यान्सर विशेषज्ञ डा. उज्जवल चालिसेले क्यान्सरलाई समाजको गम्भीर स्वास्थ्य समस्याका रूपमा उल्लेख गर्दै समयमै परीक्षण र उपचारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
ललितपुर महानगरपालिका वडा नं। ९ का अध्यक्ष तथा प्रवक्ता राजु महर्जनले भक्तपुरबाट जनचेतना फैलाउँदै ललितपुरसम्म र्याली आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा क्यान्सर सर्जन तथा गाइने अन्कोलोजिस्टहरूले क्यान्सरका कारण, उपचार विधि तथा रोकथामका उपायहरूबारे जानकारी दिएका थिए। उक्त अवसरमा सहभागीहरूका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा पनि प्रदान गरिएको थियो।










Facebook Comments