
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरेर सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचना, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट सिर्जित तस्बिर/भिडियो नियमन गर्न नेपाली सेना र नेपाल प्रहरीको सहयोग लिइने भएको छ ।
२१ फागुनमा हुने निर्वाचनको प्रचारप्रचार ‘डिजिटल स्पेस’ मा व्यापक भएकाले निर्वाचन आचारसंहिताविपरीत हुने गतिविधि रोक्न निर्वाचन आयोगले सेना र प्रहरीको सहयोग लिने भएको हो ।
यसका लागि सेनाको साइबर सुरक्षा निर्देशनालय र प्रहरीको साइबर ब्युरोको टोली परिचालित भइसकेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
‘प्रहरी र सेना दुवैको प्राविधिक टोली आयोगमै खटिएर कन्टेन्ट एनालेसिस थालिसकेका छन्, गम्भीरताअनुसार कुन कानुन आकर्षित हुन्छ भन्ने काम पनि उहाँहरूले छुट्याउनुहुन्छ,’ उनले भने ।
‘अरू सहयोगका लागि नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल र विज्ञापन बोर्डका सदस्यलाई समेत खटाइएको छ । कुनै कुरामा तत्काल एक्सन लिन सहज होस् भनेर सबैलाई एक ठाउँमा ल्याइएको उनले बताए ।
प्रहरीको साइबर ब्युरोका निर्देशक नविन्द अर्यालका अनुसार प्रहरीको टोलीले त्यसरी सामाजिक सञ्जालमा भेटिएका मिथ्या सूचना, भ्रमपूर्ण भिडियो सामग्री, घृणा फैलाउने खालका अभिव्यक्तिलाई हटाउन सामाजिक सञ्जालका कर्पोरेट कम्पनीहरूसँग सम्पर्क गर्ने काम गर्छ ।
छद्म नाममा हुने प्रचारका सन्दर्भमा समेत उनीहरूको विवरण पठाउन सामाजिक सञ्जाल प्लाटफर्महरूलाई पत्राचार गर्ने तयारी गरिएको अर्यालले बताए । ‘निर्वाचनकेन्द्रित अनुगमन र विश्लेषणका सन्दर्भमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा निर्वाचन आयोग र ब्युरोबीच समझदारी गरेर काम गरिरहेका छौं,’ उनले भने ।
आयोगसँग समन्वय गरेर काम गरिरहेका बेला साइबर ब्युरोले झापा–३ का उम्मेदवार स्वागत नेपाललाई काठमाडौं बोलाएको थियो । सामाजिक सञ्जालबाट हिंसा फैलाउने अभिव्यक्ति दिएको आरोपमा अनुसन्धानका लागि बोलाइएपछि १२ माघमा उनी ब्युरोको कार्यालय पुगेका थिए र त्यस्तो अभिव्यक्ति नदिने प्रतिबद्धता गरेका थिए । उम्मेदवारहरूको घृणा फैलाउने अभिव्यक्तिमाथि निगरानी भइरहेको अधिकृतहरू बताउँछन् ।










Facebook Comments