
काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपालका तीन ठूला राजनीतिक दलका शीर्ष नेताबीच गोप्य भेटवार्ता भएको बताइएको छ।
स्रोतका अनुसार नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार साँझ काठमाडौंमा भेटवार्ता भएको हो ।
फागुन २१ मा तय भएको प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर भएको उक्त भेटमा पछिल्लो राजनीतिक अवस्थाका साथै सम्भावित चुनावी तालमेलका विषयमा गम्भीर छलफल भएको स्रोतहरूको दाबी छ।
स्रोतका अनुसार अध्यक्ष ओलीले एमालेको जितको सम्भावना बलियो देखिएका निर्वाचन क्षेत्रहरूमा सहयोगको अपेक्षा व्यक्त गरेका थिए। यद्यपि, उक्त भेटवार्ताबारे देउवा पक्ष र एमाले दुवैले औपचारिक रूपमा जानकारी नभएको बताएका छन्।
देउवाका निजी सचिव भानु देउवाले आफू काठमाडौं बाहिर रहेकाले बैठकबारे जानकारी नभएको बताएका छन्। ‘यस्तो कुनै बैठक भएको मलाई विश्वास लाग्दैन, म भोलि काठमाडौं फर्किन्छु,’ उनले भने।
त्यसैगरी एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पनि बैठकबारे आफूलाई कुनै औपचारिक जानकारी नरहेको प्रतिक्रिया दिएका छन्।
स्रोतहरूका अनुसार एमालेले झापा र दाङजस्ता रणनीतिक रूपमा महत्त्वपूर्ण निर्वाचन क्षेत्रमा समर्थनको अपेक्षा गरेको छ।
गगन थापा विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि यो भेटवार्ता भएको बताइएको छ। नेताहरूले छलफलका विवरण सार्वजनिक गर्न चाहेका छैनन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भने आफ्ने पार्टीले एमालेलगायत कुनै पनि पार्टीसँग चुनावी तालमेल नहुने बताएका छन् । जेनजी आन्दोलनको भावनाविपरीत जान नसकिने उनको भनाइ छ ।










Facebook Comments