काठमाडौं । पश्चिम नेपालमा भोलिदेखि वर्षा र हिमपात गराउने प्रणाली सक्रिय हुने भएको छ । मौसमविद्का अनुसार भोलि सक्रिय हुने प्रणालीले केही ठाउँमा वर्षा र हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना छ ।

मौसमविद् उज्जवल उपाध्यायका अनुसार प्रणालीका कारण भोलि कर्णाली, सुदूरपश्चिम र गण्डकीका उपल्लो पहाडी तथा हिमालीक्षेत्रमा वर्षा हुने सम्भावना छ । 

ad

धेरै उचाइबाट आउने बादल सक्रिय हुने भएकाले सुदूरपश्चिम र कर्णालीका हिमाली क्षेत्र हुँदै अन्नपूर्ण, मनास्लु, लाङटाङ, गौरीशंकर, सगरमाथा र मकालु–बरुण हिमश्रृंखलामा हिमपात हुने सम्भावना रहेको उनले जानकारी दिए । 

उनका अनुसार कास्कीको उत्तरी भू–भाग तथा हिमालपारिका बस्तीहरू–हुम्ला, डोल्पा, मुस्ताङ, मनाङ र चुम उपत्यकामा वर्षा तथा हिमपात हुने अनुमान छ । उच्च हिमाली क्षेत्रबाहेक तल्लो क्षेत्रमा भने गोरखादेखि पूर्वतर्फ वर्षाको सम्भावना नदेखिएको र तराईक्षेत्रमा कतै पनि वर्षा नहुने उनले बताए । 

वर्षा नभए पनि काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा बदलीको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले पनि विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको छ ।