काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद)का अवसरमा त्यहाँ रहेका २६७ नेपाली कैदीलाई माफी दिएको छ । 

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गदै यूएई सरकारले विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफ गरिदिएको जानकारी दिएको हो ।

ad

‘युएईको ५४ औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)को शुभ अवसरमा २६७ नेपाली कैदीहरूलाई यति उदारतापूर्वक दिइएको माफीका लागि नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारप्रति हार्दिक कृतज्ञता र कदर व्यक्त गर्दछ, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘नेपाल र संयुक्त अरब इमिरेट्सबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र सौहार्दताको अभिव्यक्तिको रूपमा माफीको मैत्रीपूर्ण र मानवीय इशारालाई नेपाल सरकारले उच्च मूल्यांकन गर्दछ ।’

परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले बारम्बार गरेको अनुरोधको प्रतिक्रियामा यूएईको मैत्रीपूर्ण सरकारले माफीको निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।