
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा दलको तर्फबाट धारणा राख्दै राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका हुन् ।
दलहरुले लामा घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पुरा नहुने भएकाले कांग्रेसले ‘१० बुँदामा घोषणापत्र’ ल्याउने पनि पौडेलले जानकारी दिए।
‘कानुनको दायरामा बसेर नाफा कमाउनेहरुलाई हामीले दलालको ट्याग लगाउनु हुँदैन, यो भास्यको अन्त्य हुनुपर्छ। उनीहरुले रोजगारी सृजना र राज्यलाई तिर्ने कर ठूलो हुन्छ,’ पौडेले भने, ‘व्यवसायीले ठूलो मेहनतले पुँजी निर्माण गरेको हुन्छ। पूँजी निर्माणमा निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्छ।’
पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सृजना गर्ने खाका दलहरुका घोषणा पत्रमा हुनुपर्ने बताए। नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना पनि घोषणा पत्रमा हुने उनको भनाइ छ।









Facebook Comments