काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ नयाँ अनुहारलाई उम्मेदवार बनाएर चुनावमा होमिएपछि देशभर नै चुनावी माहोल बनेको छ र कांग्रेसको पक्षमा लहर आएको छ, जसले लोकतन्त्र, सुशासन, पारदर्शिता र परिवर्तनको एजेन्डालाई वास्तविक रूपमा कांग्रेसले नै सम्बोधन गर्न सक्छ भन्ने सन्देश आमजनताका बीचमा पुग्न सकेको छ । पार्टीभित्रै वर्षौंदेखि उठिरहेको पुस्तान्तरण र रूपान्तरणको मागलाई विशेष महाधिवेशनबाट सम्बोधन गर्दै स्पष्ट राजनीतिक सन्देश र जनमुखी एजेन्डासाथ कांग्रेस अगाडि आएपछि गाउँदेखि सहरसम्म, मधेसदेखि पहाड र हिमाली क्षेत्रसम्म कांग्रेसको पक्षमा तीव्र लहर देखिएको छ । पार्टी संगठन, नेतृत्व र एजेन्डामा देखिएको ताजगी र नेतृत्व परिवर्तनपछि आमकार्यकर्ताहरूमा जगाएको अभूतपूर्व उत्साहले नेपाली कांग्रेसलाई फेरि जनआकर्षणको केन्द्रतर्फ डो¥याएको राजनीतिक वृत्तमा चर्चा चलेको छ । पार्टीको नेतृत्व र पुरानो कार्यशैली बदलिनुपर्ने आमनेपाली जनता र पार्टी कार्यकर्ताहरूको उत्कट चाहनालाई विशेष महाधिवेशनमार्फत कांग्रेसले पूरा गरेपछि लोकतन्त्रवादी जनतामा ठूलो आशा र भरोसा जगाएको विश्लेषण कांग्रेस नेताहरूले मात्रै होइन, अन्य दलका नेता र कार्यकर्ताले समेत गरेका छन् । पुस्तान्तरणलाई व्यवहारमा उतार्दै अघि बढेको युवा नेतृत्वको सक्रियता र स्पष्ट अभिव्यक्तिले कांग्रेसलाई पुरानो राजनीतिक भाष्यबाट मुक्त गर्दै आमजनतामा आशा र भरोसा जगाएको छ । 

नेपाली कांग्रेसका नेताहरू र उम्मेदवारहरू आमजनताका बीचमा पुग्दा भएका भेटघाट, अन्तरक्रिया, संगठनात्मक गतिविधिले कांग्रेसप्रति जनआकर्षण उल्लेख्य रूपमा बढ्दै जाँदा कार्यकर्ता र समर्थकमा उत्साह थपिएको कांग्रेसका नेताहरूले बताएका छन् । पार्टी सभापति गगन थापाले मधेसबाट दिएको उम्मेदवारी र नेतृत्वको नयाँ कार्यशैलीले आगामी चुनावले कांग्रेसलाई देशकै पहिलो शक्ति बनाउने कांग्रेस नेताहरूले दाबी गरेका छन् । विशेष महाधिवेशनबाट नयाँ बनेको कांग्रेसको नेतृत्व देशको मुहार फेर्ने अभियानमा लाग्दा कांग्रेसमा पुनर्ताजगी पैदा भएको छ । नेपाली कांग्रेसका सभापति थापाले भनेका छन्– ‘बदलिएको कांग्रेसले देशलाई बदल्ने संकल्प लिएको छ । अबको ५ वर्ष देशलाई नयाँ ठाउँमा पु¥याउने सपना र संकल्प बोकेर जनतामाझ आएको छ ।’

ad

अघिल्लो चुनावता र जेनजी आन्दोलनपछि खुलेका केही नयाँ दलका नेताहरूले ‘पुराना दलहरूले देशलाई बिगारे, नयाँ दलहरूले मात्रै देशलाई निकास दिन्छ’ भन्ने भाष्य सिर्जना गर्न प्रयास गरिरहेका बेला कांग्रेसले भने ‘सबैभन्दा नयाँ दल कांग्रेस हो, कांग्रेसले मात्र परिवर्तन, व्यवस्था र दललाई सम्हाल्न सक्छ’ भन्ने सन्देश दिएको छ । उम्मेदवारी मनोनयनको केही दिनअघि मात्रै विशेष महाधिवेशनबाट नयाँ नीति र नेतृत्व तय गरेर कांग्रेसले सबैभन्दा नयाँ आफू नै हो भन्ने प्रमाणित गरिदिएको छ । नयाँ भनिएका दलहरूमै विवाद र विग्रहमा फसिरहेका बेला कांग्रेसमा जुन एकता र हार्दिकता देखिएको छ, यसले पनि आमजनतामा भरोसा जागेको विश्लेषण हुन थालेको छ ।

विशेष महाधिवेशनबाट बदलिएको नीति र नेतृत्व, गठबन्धनविनाको निर्वाचन, देश बदल्ने अठोट र पार्टीप्रति बढ्दो आकर्षणलाई नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने ४ वटा आधारका रूपमा अगाडि सारेको छ । कांग्रेसमा नेतृत्व परिवर्तनपछि नेता तथा कार्यकर्ताहरूमा छुट्टै उत्साह र ऊर्जा देखिएको छ । कांगे्रेसको नयाँ नेतृत्वले कुनै पार्टीसँग गठबन्धन नगरी रुखमा मात्र भोट हाल्न पाउने कार्यकर्ताहरूको अधिकारलाई सुरक्षित राखेको छ । अघिल्ला केही निर्वाचनहरूमा रुख चिह्नमा मतदान गर्न नपाएका कांग्रेस कार्यकर्ता, शुभेच्छुक र मतदातामा यसपालि त रुखमै भोट हाल्न पाइने भयो भन्ने खुसी देखिएको छ ।

कांग्रेसका उम्मेदवारहरू अहिलेको निर्वाचनमा ‘नेतृत्व बदल्यौँ, अब देश बदल्छौँ’ भन्ने चुनावी नाराका साथ प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवारहरूको मनोनयनपछि पहिलो चरणको घरदैलोदेखि मतदाताको भावना बुझ्न कांग्रेसका उम्मेदवार, नेता तथा कार्यकर्ताहरू निर्वाचन क्षेत्रमा व्यस्त छन् । निर्वाचन क्षेत्रमा देखिएका जनताको समस्यालाई घोषणापत्रमार्फत दस्ताबेजीकरण गरेर समाधानको बाटोसमेत पहिल्याउन पहल गर्ने कांग्रेस नेताहरू बताउँछन् । नयाँ कांग्रेसको पहिचान केवल अनुहार फेर्ने अभ्यासमा मात्र सीमित नरहीविगतका कमी कमजोरीलाई स्वीकार गर्दै अहिले सुधारको बाटो रोजेर राजनीतिक परिपक्वता देखाएकाले पनि कांग्रेसप्रति जनतामा हराउँदै गएको आशा र भरोसालाई फेरि बलियो बनाएको एक राजनीतिक विश्लेषकले देशान्तरलाई बताए । 

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको चुनाव परिचालन समितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’भन्ने नीति बनाएको छ । यही माघ २१ गतेदेखि फागुन २१ सम्म कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने बताइएको छ । संयोजक शर्माले केन्द्रीय कार्यालयमा भएको प्रदेश स्तरीय विशेष आन्तरिक छलफलमा यो नीति माघ २१ गतेबाट लागू हुने जानकारी दिएका हुन् । 

निर्देशिकामा समेट्ने विषयबारे सबै प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति एवं काठमाडौंमा रहेका विभिन्न पेसा व्यवसायमा संलग्न कांग्रेसका शुभेच्छुक एवं युवाहरूसँग छलफल गरेका थिए । 

घोषणापत्रमा १० भिजन 

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ र सो घोषणापत्रमा मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई मुख्य आधार बनाई ‘भिजन–१०’ समेट्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । कांग्रेसले घोषणापत्र लेख्ने जिम्मा सभापति गगन थापालाई दिएको छ । हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको चालिसेले बताए । स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने चालिसेको भनाइ छ । कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्ने चालिसेको दाबी छ । घोषणापत्रमार्फत राजनीतिक स्थिरता, आर्थिक विकास, सुशासन, जवाफदेहिता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राखिने कांग्रेसले बताएको छ ।