
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका नुवाकोटका सञ्चारकर्मी दिनेश सिटौलाको अवस्था अझै जटिल छ । उनको वास्तविक स्वास्थ्य अवस्था सार्वजनिक गर्न आफन्तले अस्पतालसँग माग गरेका छन् ।
दिउँसो १२ बजे बालेन आफैँ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । चिकित्सकले सिटौला पूर्णरूपमा अचेत रहेको र भोलि बिहान ७ बजेसम्म अब्जर्भेसनमा राखिने बताएका छन् । अस्पतालमै रहेका चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले अस्पतालले आधिकारिक जानकारी गराउनुपर्ने बताए ।
उनले भने, ‘अस्पतालले अहिलेसम्म आधिकारिकरूपले केही बताएको छैन, हामी सबै चिन्तामा छौं ।’ बलामीसँगै रहेका सिटौलाका भाइ उमेश भन्छन्, ‘अस्पतालले हामीलाई ३ बजेभित्र वास्तविक अवस्था भन्छौँ भनेको थियो, तर बालेनले भोलि ७ बजेसम्म पर्खिनुस् भनेपछि अस्पताल पनि रोकियो ।’
४३ वर्षीय सिटौला नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दा हुन् । उनलाई मस्तिष्क पक्षघात भएको हो । सिटौलालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बिरामीका दाजु र भाइबाहेक बसैलाई पनि भेट्न दिइएको छैन । बालेनले पनि प्रत्यक्ष भेट्न पाएनन् । आफन्तजनहरू चमत्कारको आशामा छन् ।









Facebook Comments