
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद तामाङले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा २३ वर्षीया कोपिला नेपाली र निजका श्रीमान् ३० वर्षीय विनोद तामाङबीच विवाद हुँदा श्रीमानले चिर्पटले हानी श्रीमतीको हत्या गरेको विनोद स्वयंले प्रहरी चौकी टिकाभैरवमा आई जानकारी गराएका हुन् ।
‘दुवैजनाले मादक पदार्थ सेवन गरेको कुरा श्रीमान् स्वयंले स्वीकार गरेका छन्, निज श्रीमान आफैँ प्रहरी चौकी टीकाभैरवमा आएर जानकारी गराएका हुन्,’ उनले भने, ‘तत्पश्चात् निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी टीकाभैरव र प्रहरी वृत्त चापागाउँको प्रहरी नायव उपरीक्षक शिला थापाको कमाण्डमा घटनास्थल अनुसन्धान टोली गई लास जाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा भएको छ ।’
शव परीक्षणका लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अभियुक्त तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी मिश्रले बताए।









Facebook Comments