
काठमाडौं । राजनीतिमा निष्ठा र इमानदारीको कुरा चल्दा अहिले पनि जनजिब्रोमा झुल्किने नाम हो- दिवंगत नेता नवीन्द्रराज जोशी । तिनै जनप्रिय नेताको राजनीतिक विरासत, अधुरा सपना र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को रैथाने भावनालाई बोकेर यतिबेला सपना राजभण्डारी जोशी चुनावी मैदानमा होमिएकी छन् । नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेकी सपना केवल एक दिवंगत नेताकी धर्मपत्नी मात्र होइनन्, उनी आफैंमा विद्यार्थी राजनीतिबाट खारिएकी, शैक्षिक र सामाजिक सेवामा लामो अनुभव सँगालेकी एक परिपक्व व्यक्तित्व हुन् । २०७७ चैतमा मस्तिष्कघातका कारण पति नवीन्द्रराजको असामयिक निधन भएपछि रिक्त रहेको त्यो राजनीतिक र भावनात्मक खाडल भर्न पार्टीको आग्रह र स्थानीयको स्नेहले उनलाई सक्रिय राजनीतिमा पुनः स्थापित गराएको छ ।
काठमाडौं ८ को कोर एरिया, जहाँ विश्व सम्पदा सूचीमा रहेका वसन्तपुर र स्वयम्भू जस्ता पुरातात्विक महत्वका धरोहरहरू छन्, त्यहाँको रैथाने हुनुको नाताले सपनालाई यस क्षेत्रका नशा-नशाको जानकारी छ । उनले आफ्ना एजेन्डाहरूमा ठूला र असम्भव आश्वासनको महल खडा गर्नुभन्दा पनि स्थानीयको दैनिक जीवनमा जोडिएका आधारभूत कुराहरूलाई प्राथमिकता दिएकी छन् । विशेषगरी सम्पदा क्षेत्रमा वैकल्पिक सडकको अभावले पर्यटक र स्थानीयले भोग्नुपरेको सास्ती, सुरक्षाको प्रत्याभूति र खोला किनारका बासिन्दाका समस्या सुल्झाउनु उनको मुख्य लक्ष्य देखिन्छ । "म यसै क्षेत्रको माटोमा जन्मे-हुर्केकी मान्छे हुँ, मलाई यहाँको गल्ली र गुठीदेखि हरेक घरको पिरमर्का थाहा छ," उनी भन्छिन् । नवीन्द्रराजले २०६४ र २०७० मा यसै क्षेत्रबाट जितेर बनाएको बलियो सांगठनिक पकड र इमानदारीको जगलाई उनी आफ्नो मुख्य पुँजी मान्छिन् ।
पछिल्लो समय नेपाली राजनीतिमा आएको 'जेनजी' (Gen Z) आन्दोलन र युवा पुस्ताको विद्रोहलाई सपनाले निकै सकारात्मक र गम्भीर रूपमा लिएकी छन् । उनी पुरानो पुस्ता र नयाँ सोचबीचको एउटा बलियो पुल बन्न चाहन्छिन् । भदौ २३ र २४ को आन्दोलनले दिएको म्यान्डेटअनुसार नेपाली कांग्रेस सच्चिनुपर्ने र बदलिएर आउनुपर्ने जनचाहनालाई उनले स्वीकार गरेकी छन् । कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी रूपान्तरित भएको र नेतृत्वमा आएको परिवर्तनले जनतामा नयाँ आशा जगाएको उनको दाबी छ । नयाँ दलहरूले ल्याएको लहरलाई सम्मान गर्दै उनी पुराना दलका अनुभव र नयाँ पुस्ताको ऊर्जा मिलेर मात्र देश बन्ने तर्क गर्छिन् । मन्त्री पदको लोभमा जिम्मेवारी छाड्ने प्रवृत्तिप्रति असन्तुष्टि पोख्दै उनी राजनीतिलाई पद र पावरको खेलभन्दा पनि सेवाको माध्यम बनाउनुपर्नेमा जोड दिन्छिन् ।
सपनाको राजनीतिक भिजन केवल विकास निर्माणमा मात्र सीमित छैन, उनी सामाजिक विकृति विरुद्ध पनि उत्तिकै प्रखर छिन् । विशेषगरी उपत्यकाका युवाहरू 'वेभ सिगरेट' जस्ता कुलतमा फसेको देख्दा उनी चिन्तित छिन् । यसअघिको कार्यकालमै उनले संसदमा यो विषय उठाएर राज्यको ध्यान खिच्न सफल भएकी थिइन् । विद्यालय स्तरमै सचेतना फैलाउने र कुलतमा फसेकाहरूका लागि प्रभावकारी रिहाब सेन्टर स्थापना गर्ने उनको योजनाले धेरै अभिभावकहरूको मन जितेको छ । संसदभित्रको काम गर्ने शैली, विधेयक निर्माणको जटिल प्रक्रिया र बाहिरबाट देखिने दृश्यबीचको भिन्नतालाई उनले नजिकबाट अनुभूत गरेकी छन्, त्यसैले उनी जे भन्न सकिन्छ त्यही मात्र गर्ने र बोलेका कुरा पूरा गर्ने अठोटका साथ अघि बढेकी छन् ।
सपना राजभण्डारी जोशीको उम्मेदवारी काठमाडौं ८ का लागि एउटा अवसर र चुनौती दुवै हो । एकातिर नवीन्द्रराज जोशीले छाडेर गएका अधुरा विकासका योजनाहरू पूरा गर्ने दायित्व उनीमाथि छ भने अर्कोतिर बदलिँदो राजनीतिक परिवेशमा 'जेनजी' पुस्ताको विश्वास जित्नुपर्ने गुरुत्तर जिम्मेवारी छ । "नवीन्द्रजीले अचानक छाडेर जाँदा धेरै योजनाहरू बीचैमा रोकिए, म ती सबैको साक्षी छु र ती पूरा गर्ने स्पष्ट मार्गचित्र मसँग छ," उनी दृढता व्यक्त गर्छिन् । काठमाडौंको कला, संस्कृति र संस्कार जोगाउने अभियानलाई संसद्सम्म पुर्याउने उनको यो यात्रामा मतदाताले उनको निष्ठा र स्थानीयतालाई कसरी मूल्याङ्कन गर्छन्, त्यो नै आगामी निर्वाचनको रोचक पक्ष हुनेछ ।










Facebook Comments