काठमाडौँ । पाशुपत क्षेत्रस्थित नेपाल वेदविद्याश्रम परिसरमा आगामी माघ २३ गतेदेखि फागुन ४ गतेसम्म (फेब्रुअरी ६ देखि १६ सम्म) ‘विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटि अर्चना महायज्ञ’ दिव्य महोत्सव आयोजना हुने भएको छ । 

नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको सङ्कल्पसहित श्रीविद्याका परम उपासक श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरुदेव महेश चैतन्य ब्रह्मचारी महाराजज्यूको सान्निध्य एवं निर्देशनमा यो ऐतिहासिक अनुष्ठान सम्पन्न हुन लागेको हो ।

ad

नेपालको यज्ञिय इतिहासमा नै प्रथम पटक हुन लागेको यस प्रकारको विशिष्ट यज्ञमा कोटि अर्चनाका साथै महागणपति, सूर्य, नारायण, दक्षिणमूर्ति, मातङ्गी, वाराही र कुमारीका लक्षार्चन अनुष्ठानहरू समेत एकैसाथ सञ्चालन गरिनेछन् । महायज्ञ केवल कर्मकाण्ड मात्र नभई एक वैज्ञानिक प्रक्रिया भएको गुरुदेव महेश चैतन्यले बताए । 

उनले भने ‘प्राचीन कालमा ऋषि वशिष्ठ र दत्तात्रेयले गर्ने गरेको र पछिल्लो समय लोप हुन लागेको यो विद्याको पुनर्जागरणले नेपालको वायुमण्डलमा सकारात्मक ऊर्जा सञ्चार गर्ने छ ।’

११ दिनसम्म चल्ने यस कठिन साधनाले देशमा व्याप्त भ्रष्टाचार र बेथिति अन्त्य गर्न शासकहरूमा इमानदारी र सेवाभाव जागृत गराउन मद्दत गर्नेछ । तन्त्र विद्या (आगम) को प्राचीन केन्द्र पशुपति क्षेत्रमा हुने यस यज्ञले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधान गरी युवा पलायन रोक्न र देशलाई समर्थ बनाउन आध्यात्मिक बल प्रदान गर्ने पनि गुरु चैतन्यको भनाई छ । 
अनुष्ठानमा करिब १५१ जना दीक्षित साधकहरू सहभागी हुनेछन् ।  जसमा ११० जना ब्राह्मण बटुक र विद्वान्हरूले दैनिक १४–१५ घण्टासम्म साधना गर्नेछन् । व्यापारिक लेनदेन र यजमान प्रथाभन्दा टाढा रहेर सबै साधकहरू समान फलका भागीदार हुने बताइएको छ । 

यज्ञमा प्रतिष्ठित श्रीयन्त्रमा ललितासहस्रनामद्वारा कोटि अर्चना, सप्तशती चण्डी पाठ, शिवोपासना र सुवासिनी पूजा जस्ता गतिविधि हुनेछन् । भगवान राम, कृष्णदेखि विभिन्न देवताहरूले समेत उपासना गरेको यो ब्रह्माण्ड शक्ति तत्वको आराधनाले नेपालको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने र देवभूमिका रूपमा रहेको यस राष्ट्रको गौरवलाई पुनः जागृत गराउने विश्वासका साथ सम्पूर्ण श्रीविद्या प्रेमीहरूलाई महोत्सवमा सहभागी हुन आह्वान पनि गरिएको छ । 

श्री विद्या के हो ?
यो ब्रह्माण्ड चलाउने शक्ति तत्वको आराधना हो । यसको साधना स्वयं शिव, विष्णु, ब्रह्मा, इन्द्र, मनु र कुबेर जस्ता देवताहरूले गर्छन् । भगवान राम र कृष्णले पनि यो विद्याको उपासना गरेका थिए । यो साधना अत्यन्त कठिन (दैनिक १४–१५ घण्टा) लाग्छ छ ।

आजभोलि मानिसहरू मनोरञ्जनका लागि कथा प्रवचनमा झुम्मिन्छन्, तर वास्तविक साधना र ब्रह्मचर्यको पालन गर्न गाह्रो मान्छन् ।

धर्मले मानिसलाई इमानदार बनाउँछ र दुःखीको सेवा गर्न सिकाउँछ । यदि जनतामा यो भावना जागृत भयो भने सत्ता आफैँ सुध्रिन्छ । नेपालको कुनै पूर्वजन्मको पुण्यले गर्दा नै आज यो दुर्लभ कार्यक्रम यहाँ हुन गइरहेको हो ।  यो देवभूमि हो (पाणिनि र भरत राजाको भूमि), यसलाई साधनाद्वारा जागृत गराउनु पर्छ । यसबाट देशको कल्याण निश्चित छ ।