काठमाडौं । नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका वरिष्ठ नेता बालेनलाई अघि बढाउन बाह्य शक्तिहरुले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा संयोजक दाहालले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढ्नेभन्दा पनि स्टन्टको भरमा लोकप्रिय हुनेहरुलाई देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरिरहेको जिकिर गरे । उनले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिष्ट तथा वामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई तीब्रता दिनुपरेको समेत उनले बताए । 

ad

प्रचण्डले रास्वपा सोसल मिडियामा स्टन्टबाजी गरेर जनतामा भ्रम छर्न उद्यत रहेको समेत आरोप लगाए । रास्वपामा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको बेला सोसल मिडियामा स्टन्टबाजी गर्नेबाहेक अरु केही गर्न नसकेको उनको टिप्पणी छ । उनले मुलुकमा घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै बामपन्थी शक्तिहरुलाई एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गरे ।

उता, नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारले रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित जीबी राईलगायतको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन गरेको निर्णयले देश ‘ब्लाक लिस्ट’मा धकेलिने बताए । 

मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भट्टराईले हाल नेपाल ‘ग्रे लिस्ट’मा रहेको अवस्थामा यस्ता संवेदनशील मुद्दा कमजोर पार्ने कार्यले देशलाई ‘ब्ल्याक लिस्ट’तर्फ लैजाने खतरा बढेको बताए । 

संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दामा राज्य संयन्त्र नै लागेर अपराधलाई प्रोत्साहन गर्ने हो भने अब देश ब्ल्याक लिस्टमा जानबाट कसले रोक्न सक्छ ? उनको प्रश्न छ । नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुन निर्माण र कार्यान्वयनका लागि विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको समेत उनले स्मरण गराए ।

तर सम्पत्ति शुद्धीकरण र संगठित मुद्दालाई कमजोर बनाउने महान्याधिवक्ताको निर्णयले नेपाल अझै गहिरो संकटतर्फ धकेलिनसक्ने भन्दै उनले सचेत गराए । यसले विदेशी शक्तिहरूको चलखेल बढ्ने र देशलाई खाल्टोमा हाल्ने सम्भावना रहेको उनको भनाइ छ ।

महान्यायाधिवक्ताको कार्यालयले विभिन्न सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रास्वपा सभापति लामिछानेमाथि लगाइएका ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी मुद्दा परिमार्जन गरी फिर्ता लिने निर्णय गरेको थियो । 

उक्त निर्णयको विरोध र आलोचना भएपछि रविको मात्र नभई जीबी राई सहितका दर्जनौँ व्यक्तिविरुद्धका ती मुद्दा फिर्ता लिने, अभियोजन संशोधन गर्ने निर्णय महान्यायाधिवक्ता सविता भण्डारीले गरिन् । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि मुद्दा विचाधीन छ ।