
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यकामा रहेका प्रमुख कारागार तथा कारागार अस्पतालको स्थलगत निरीक्षण गर्दै सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
गृहमन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, कारागार कार्यालय डिल्लीबजार र केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा गृहसचिव, गृहमन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थापन विभागका महानिर्देशक तथा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकसहितको उच्चस्तरीय टोली सहभागी थियो।
केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा पुगेर मन्त्री अर्यालले केन्द्र, भद्र तथा महिला सुधारगृहको अवलोकन गर्दै त्यहाँ रहेका कैदीबन्दीसँग प्रत्यक्ष भेटघाट गरे। उनले बन्दीहरूको दैनिक जीवन, सुविधा–सुविधा तथा उनीहरूले भोगिरहेका समस्या र गुनासोबारे जानकारी लिए।
त्यसैगरी कारागार कार्यालय डिल्लीबजारको महिला तथा पुरुष ब्लकको निरीक्षण गर्दै मन्त्री अर्यालले राज्यका तर्फबाट प्रदान गरिँदै आएका सेवाहरूको प्रभावकारिताबारे चासो व्यक्त गरे र बन्दीहरूको अवस्थाबारे प्रत्यक्ष बुझ्ने प्रयास गरे।
निरीक्षणका क्रममा सम्बन्धित कारागार प्रशासकहरूले कारागारको क्षमता, भौतिक पूर्वाधार, हालको बन्दी संख्या तथा व्यवस्थापन चुनौतीबारे जानकारी गराएका थिए। मन्त्री अर्यालले विशेषगरी वृद्ध र दीर्घरोगी बन्दीहरूको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै कानुनअनुसार उनीहरूले पाउने सहुलियत र राहतको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए।
कारागार निरीक्षणपछि मन्त्री अर्यालले बन्दीगृहमा मानवअधिकारको प्रत्याभूतिमा कुनै किसिमको सम्झौता नहुने स्पष्ट निर्देशन दिए। साथै कारागारको भौतिक पूर्वाधार सुधार, स्वास्थ्य, सरसफाइ र अन्य अत्यावश्यक सेवाको विस्तारका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले कारागार व्यवस्थापन विभागमार्फत सुधारको स्पष्ट मार्गचित्र तयार गरी छिटो मन्त्रालयमा पेस गर्न निर्देशन दिए।
गृहमन्त्री अर्यालले केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको समेत निरीक्षण गर्दै उपचाररत बन्दीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। उनले अस्पतालको सेवा थप प्रभावकारी र सुदृढ बनाइने आश्वासनसमेत दिए।










Facebook Comments