काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहमाथि निर्वाचन आयोगमा उजुरी परेको छ ।

शाहको अभिव्यक्तिले घृणा फैलाएको, तथ्यहीन आरोप लगाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै 
धर्मराज तिमिल्सिनाले उजुरी दर्ता गराएका हुन् । शाहमाथि उजसरीमा आवश्यक कारबाहीको माग गरिएको छ । 

ad

एमाले अध्यक्ष ओलीले हालै सार्वजनिक रूपमा सबै राजनीतिक दलका प्रमुख नेताहरूबिच पारदर्शी, बौद्धिक र नम्रतामा आधारित विभिन्न डिबेटको प्रस्ताव राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ओलीलाई ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’जस्ता आरोप लगाएका थिए । 

उजुरीकर्ता तिमिल्सिनाका अनुसार शाहका यी अभिव्यक्ति लोकतान्त्रिक बहसको मर्मविपरीत, घृणा फैलाउने, मानमर्दन गर्ने, अपूर्ण आरोप लगाउने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने खालका छन् । 

कुनै प्रमाण वा अदालतको निर्णयबिना सार्वजनिक रूपमा यस्ता गम्भीर आरोप लगाइनु स्वयंमा मानहानि, राजनीतिक प्रतिशोध र मतदाताको मानसिकता भ्रमित पार्ने कार्य भएको उजुरीमा उल्लेख छ ।