
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहअध्यक्ष माधव नेपालको हुकुमी शैलीले नेकपाको एकतामा गम्भीर खसर पर्ने चेतावनी दिएका छन् ।
केन्द्रीय सचिवालय र स्थायी कमिटी नबनेकाले संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको ‘हुकुमी शैली’बाट पार्टी चलेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । सिन्धुली–२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेता हरिबोल गजुरेलमाथि गरिएको कारबाहीप्रति उनले आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।
‘पार्टी कमिटीहरू बनेका छैनन् । संयोजक र सहसंयोजकको हुकुमी आदेशबाट पार्टी चलेको छ,’ उनले भने, ‘सामूहिक निर्णयबाट पार्टी चल्नुपर्नेमा दुई जना (दाहाल, नेपाल) ले जे मन लाग्यो, त्यही गर्नुभएको छ ।’
नेकपाले सिन्धुली–२ बाट लेखनाथ दाहालविरुद्ध महेश्वर दाहालले उम्मेदवारी दिएपछि गजुरेलसहित महेश्वरलाई कारबाही गरेको थियो ।
खनालले पार्टीका वरिष्ठ नेतामाथि कारबाही गर्दा पार्टीभित्र कुनै छलफल नै नगरेको उल्लेख गर्दै यसलाई विधिविपरीतको कार्य भएको बताए ।
‘वरिष्ठ नेतालाई कारबाही गर्दा पार्टीभित्र छलफल हुनुपर्थ्यो । एकैपटक कारबाही गर्नु अनौठो भयो,’ उनले भने, ‘पार्टी, नीति, विधि र सिद्धान्तको संयोजन भए मात्र पार्टी निर्माण हुन्छ ।’
हरिबोल गजुरेलमाथिको कारबाही गम्भीर विषय भएकाले पार्टीभित्र छलफल गर्नुपर्ने उनको भनाइ छ ।
‘पार्टीको आन्तरिक एकतालाई बलियो बनाउन विधि र प्रक्रिया राम्रोसँग कार्यान्वयन गर्नुपर्छ,’ उनको भनाइ छ ।










Facebook Comments