काठमाडाैं । कर्णाली प्रदेशमा राष्ट्रिय सभाका दुई पदका लागि सम्पन्न निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनका उमेदवार विजयी भएका छन् । अन्य कलस्टरतर्फ कांग्रेसका ललितजंग शाही र महिलातर्फ एमालेकी मिना सिंह रखाल निर्वाचित भएका हुन् ।

निर्वाचनमा नेकपाका दुवै उमेदवार पराजित भएका हुन् । आइतबार बिहानदेखि सुरु भएको मतदानमा ९६.४६ प्रतिशत मत खसेको थियो । कुल १९८ मतदातामध्ये १९१ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

ad

प्रदेश सभातर्फका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए भने एकजनाले मतदान गरेनन् । स्थानीय तहतर्फ १५८ मतदातामध्ये १५२ जनाले मत खसालेका थिए । स्थानीय तहका ६ जना जनप्रतिनिधिले मतदान नगरेको निर्वाचन कार्यालयले जनाएको छ ।

खसेको मतमध्ये महिलातर्फ एमालेकी रखालले प्रदेश सभाबाट २६ र स्थानीय तहबाट ९३ मत प्राप्त गरिन् । यस्तै कांग्रेसका शाहीले प्रदेश सभाबाट २५ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए ।

पराजित उमेदवारमध्ये महिलातर्फ नेकपाकी अन्जु महतराले प्रदेशसभाबाट १३ र स्थानीय तहबाट ५५ मत पाइन् भने अर्का उमेदवार बुद्धिप्रसाद शर्माले प्रदेशसभाबाट १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गरे । 
कुल खसेको मतमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।