
काठमाडौं । डोल्पामा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेका दिलबहादुर विष्ट कांग्रेस प्रवेश गरेका छन् । उनलाई नेपाली कांग्रेस सहमहामन्त्री एवं कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका कर्णबहादुर बुढाले पार्टीमा प्रवेश गराएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका विष्ट शनिबार नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन् ।
उनले कांग्रेस प्रवेश गरे पनि उनको उम्मेदवारी भने यथावत् रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस अघि पनि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी पनि कांग्रेस प्रवेश गरेकी थिइन् ।
कार्यालयका माघ ९ गते शुक्रबार दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । सो समयमा उम्मेदवारी फिर्ता नलगेको उनीहरू पार्टी प्रवेश गर्दै कांग्रेसका बुढालाई सहयोग गर्ने बताएका छन् ।
विष्ट यसअघि पनि कांग्रेसमै थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट नदिएको भन्दै तत्कालीन माओवादी प्रवेश गरेका उनी त्रिपुरासुन्दरी मेयर पदमा पराजित भएका थिए ।










Facebook Comments