
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई चुनाव प्रचारप्रसारका लागि गाडी दिने कमलकिशोर मालपानीविरुद्ध ‘सुर्ती मुद्दा’ रहेको पाइएको छ ।
झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका बालेनले प्रयोग गरेको बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर जगुरा ल्यान्ड रोभर लिमिटेडको उत्पादन हो । उक्त डिफेन्डरको नेपाली मूल्य ८ करोड रुपैयाँको चर्चा छ ।
बालेनलाई चुनाव प्रचारप्रसारका लागि उक्त गाडी त्रिमूर्ति इन्डस्ट्रिज प्रा.लि.को नाममा दर्ता भएको खुलेको छ । जुन कम्पनीका मालिक हुन् कमलकिशोर मालपानी । उनको सुर्तीजन्य वस्तु उत्पादन कम्पनी श्रीराम टोबाको कम्पनीदेखि पछिल्लो समय लोकप्रिय तयारी चाउचाउ करेन्टसम्म छ । बुटवल र रुपन्देही क्षेत्रमा पाँचतारे होटल ‘सफ्रोन सीके’ तथा अन्य उद्यमहरूमा समेत मालपानीको लगानी रहेको पाइएको छ ।
उनीविरुद्ध २०७६ मा कर छली तथा झुट्टा (नक्कली भ्याट)को कारोबारमा संलग्न भएको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको भेटिएको छ । विभागका अनुसार गत पुस २०७६ मा बुटवल नगरपालिका वडा नं. १२ स्थित श्रीराम टोबाको उद्योग प्रा।लि।का सञ्चालक मालपानीसहित सात जना सञ्चालकहरूविरुद्ध मुद्दा दायर भएको थियो ।
राजस्व चुहावट अभियोगमा तत्कालीन समयमा विभागले श्रीराम टोबाको उद्योगविरुद्ध १० करोड ७३ लाख बिगो दाबी गर्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर, यस मुद्दाको किनारा हालसम्म लागे वा नलागेको विभागले जानकारी दिएको छैन ।









Facebook Comments