काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।  

उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्तावलाई  बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो ।

ad

बैठकमा उपसभापति शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्ताव राख्दै भने– केन्द्रीय कार्यसमितिका सबै आदरणीय साथीहरूलाई सभापति गगन थापालाई आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने प्रस्ताव पारित गरिदिनुहुन अनुरोध गर्दछु ।

उपसभापति शर्माले पृष्ठभुमि, संस्कार, योगदान, योग्यता र भिजनमा तुलनात्मक अध्ययन र विश्लेषण गर्न मतदातालाई सहज हुने भएकाले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारिएको पनि स्पष्ट पारेका थिए ।