आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर ५ देशकै सबैभन्दा चासोको केन्द्र बन्यो। मंगलबार उम्मेदवारी मनोनयन दर्ताको दिन त झन् सबैको नजर यही क्षेत्रमा टिक्यो। कारण स्पष्ट थियो—काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहले प्रधानमन्त्री बन्ने आकांक्षासहित पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष भिडन्तका लागि यही क्षेत्र रोज्नु।

मनोनयन दर्ताको दिन निर्वाचन कार्यालय वरिपरि देखिएका दृश्यहरूले दुई फरक राजनीतिक शैली र मनोविज्ञान उजागर गरे—एकातिर व्यवस्थापनमा अलमल र मनोवैज्ञानिक दबाबमा देखिएका बालेन, अर्कोतिर संयम, अनुभव र आत्मविश्वास झल्काएका ओली।

ad

झापा–५ बाट उम्मेदवारी दर्ता गराउन पुगेका बालेन शाह दिनभर असहज र चिडचिडा देखिए। सुरक्षाकर्मी र सञ्चारकर्मी दुवैप्रति उनी ‘इरिटेड’ देखिनु, एक घण्टाभन्दा बढी समय मनोनयनका लागि कुर्नुपर्नु र टिमको अव्यवस्थित तयारीले उनको मनस्थिति झन् अस्थिर बनाएको थियो।

मनोनयन फाराम अघिल्लो दिन लगिएको भए पनि नभरिएको, आवश्यक कागजातहरू निर्वाचन कार्यालयमै जुटाउनुपर्ने अवस्था र दस्तुर तिर्नसमेत बाहिरबाट सहयोग लिनुपरेको दृश्यले बालेनको उम्मेदवारी व्यवस्थापन कमजोर देखियो। ठूलो जनसहभागिता भए पनि प्राविधिक तयारीमा देखिएको कमजोरीले उनको ‘आउटसाइडर’ छविलाई बल पुग्यो।

उम्मेदवारी दर्ताको सम्पूर्ण समय बालेन सञ्चारकर्मीलाई बाहिर पठाएर एक्लै बसे। उत्साहित रास्वपा कार्यकर्ता र समर्थकहरू उनीसँग प्रत्यक्ष संवाद गर्न नपाई निराश बने।

दमक बजारबाट हजारौँ समर्थकसहित जुलुस लिएर निर्वाचन कार्यालय पुगेका बालेनका समर्थकहरूले आयोग परिसरमा २५ जनाभन्दा बढी प्रवेश नगर्ने सहमति तोडे। प्रहरीको ब्यारिकेट तोड्दै भिड भित्र पस्दा स्थिति तनावग्रस्त बन्यो। भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्‍यो।

त्यसैबीच एमाले र रास्वपाका कार्यकर्ताबीच धकेलाधकेल र कुटाकुट भयो। यही घटनाको आसपास ‘बालेन शाहलाई गोली हान्नुपर्छ’ भन्ने अडियो–भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बालेनले आफूलाई गम्भीर सुरक्षा खतरा महसुस गरेको स्रोतहरूको दाबी छ। उक्त अडियोमा एमाले र उसका भ्रातृ संगठनहरूको नाम मुछिनुले राजनीतिक माहोल थप तातियो।

झडप र धम्कीपछि बालेनले तय गरिएको सभा सम्बोधन नगरी अचानक स्थान परिवर्तन गरे। केही समय उनी कहाँ छन् भन्नेबारे सुरक्षाकर्मीहरू समेत अन्योलमा परे। उनले आफूलाई ओलीको तुलनामा पर्याप्त सुरक्षा नदिएको गुनासो गरेको बताइन्छ।

बालेनको भिडभाड र अव्यवस्थाको ठीक विपरीत दृश्य एमाले अध्यक्ष केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा देखियो। झापा–५ लाई आफ्नो बलियो आधार मानिने ओलीले ठूलो शक्ति प्रदर्शन गरेनन्। सीमित कार्यकर्ता र व्यवस्थित टोलीसहित पुगेका ओलीले करिब १५ मिनेटमै मनोनयन प्रक्रिया पूरा गरे।

निर्वाचन अधिकृतको कार्यालयमै सञ्चारकर्मीसँग खुलेर कुरा गरेका ओली संयमित र आत्मविश्वासी देखिए। उनले ‘नयाँपनको नाममा भ्रम फैलाउने प्रयास भइरहेको’ टिप्पणी गर्दै देश जोगाउन अनुभवी नेतृत्व आवश्यक रहेको जोड दिए। आगजनी, तोडफोड र अराजक प्रवृत्तिबाट लोकतन्त्र जोगाउन पुराना र स्थापित शक्तिको भूमिका अपरिहार्य भएको उनको तर्क थियो।

मनोनयन दर्ताकै क्रममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङसँग ओलीको छोटो संवाद पनि चर्चामा रह्यो। उम्मेदवारी फिर्ता लिन सुझाव दिएका ओलीलाई तामाङले ‘भत्ता खाने उमेरमा आराम गर्नु राम्रो’ भन्ने जवाफ दिएपछि ओलीले ‘पञ्जा लड्ने हो?’ भन्दै प्रतिक्रिया दिए। संवाद सौहार्द्रपूर्ण बनाउन खोजिए पनि अन्ततः तिक्ततामै टुंगियो।

झापा–५ को मनोनयन दर्तामा अर्को रोचक दृश्य पनि देखियो। नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं कांग्रेस त्यागेर रास्वपामा प्रवेश गर्दै बालेनका साथ निर्वाचन कार्यालय पुगे। तर उनकी श्रीमती रेगिना भट्टराई भने कांग्रेसकै उम्मेदवारलाई लिएर त्यही कार्यालय आइन्। एउटै परिवारका दुई सदस्य फरक दलका उम्मेदवारसँग देखिँदा स्थानीय स्तरमा चासो र चर्चा बढ्यो।

झापा–५ को मनोनयन दर्ताले चुनावी प्रतिस्पर्धा मात्र होइन, नेतृत्वको शैली, तयारी र मनोवैज्ञानिक अवस्था पनि सतहमा ल्याइदियो। बालेन शाह जनसहभागिता र चर्चामा अगाडि देखिए पनि व्यवस्थापन कमजोरी र सुरक्षा त्रासले हतास देखिए। विपरीत, केपी शर्मा ओली कम भिड, तर स्पष्ट सन्देश, संयम र अनुभवसहित मैदानमा उत्रिए।

अब झापा–५ को यो भिडन्त चुनावी नतिजामा कसरी रूपान्तरित हुन्छ, त्यो भने फागुन २१ पछि मात्र स्पष्ट हुनेछ।