
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा दायर गरेको रिट फिर्ता लिन कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काबाहेक अधिकांश नेता सहमत भएका छन् ।
निर्वाचन आयोगको निर्णय नेपालको संविधान, कानुन विपरीत भएको भन्दै त्यसविरुद्ध देउवा पक्षले कानुनी उपचार र सडक संघर्ष गर्ने निर्णय गरेको थियो । खड्काले नवनिर्वाचित कार्यसमितिलाई अवैधानिक भन्दै आफैँले अदालतमा मुद्दा दायर गरेकाले नैतिकताका आधारमा चुनाव नलड्ने निर्णय लिएका छन् ।
निवर्तमान सभापति देउवाको विश्वासपात्र डा. प्रकाशशरण महत कांग्रेसबाट नुवाकोट क्षेत्र नम्बर १ मा उम्मेदवार भएका छन् । देउवा समूहकै रामहरि खतिवडालाई कांग्रेसले ओखलढुंगमा उम्मेदवार बनाएको छ ।
सोमबार बसेको संसदीय बोर्डको बैठकले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आफूलाई पार्टीले टिकट दिएको खतिवडाले पनि जानकारी दिए।
स्रोतका अनुसार खड्काबाहेक अधिकांश नेता रिट फिर्ताको पक्षमा उभिएका छन् । खड्काले भने सर्वोच्चमा दायर रिट फिर्ता नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै खड्काले सर्वोच्चमा दिइएको रिट फिर्ता नभएको बताएका हुन् ।
‘केही सञ्चारमाध्यममा आएका गलत समाचारबारे स्पष्ट होस् । २०८२ माघ २ गते कांग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अवैधानिक निर्णयका विरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको म स्पष्ट पार्न चाहान्छु,’ खड्काले लेखेका छन्, ‘यो सम्वेदनशील विषयमा मसँग प्रत्यक्ष सम्पर्क नगरीकन अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न सबै सञ्चारमाध्यमका साथीहरूलाई विशेष आग्रहसमेत गर्दछु ।’
त्यस्तै, देउवाको सचिवालयका तर्फबाट उनका निजी सचिव भानु देउवाले पनि सर्वोच्चमा दायर मुघा फिर्ता लिन सहमत नभएको र अदालतबाट निष्पक्ष निर्णय अपेक्षित रहेको बताएका छन् ।
सर्वोच्चमा दायर मुद्दा फिर्ता लिन नमानेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको क्षेत्रमा टिकट होल्डमा राखेका छन् ।
सभापति थापा निकट स्रोतका अनुसार देउवा निर्वाचन लड्दै आएको डडेलधुरा र खड्का निर्वाचन लड्दै आएको सुर्खेत क्षेत्र नम्बर १ मा टिकट होल्डमा राखिएको हो ।
दुवै नेताहरूसँगको परामर्शमा मङ्गलबार बिहानसम्म टिकटको टुंगो लगाउने सभापति थापा निकट स्रोतले जानकारी दियो ।
त्यसबाहेक बागमती र मधेस प्रदेशका अधिकांश जिल्लाहरूमा उम्मेदवार टुंग्याउन बाँकी रहेको थापाको सचिवालयले जानकारी दिएको छ ।










Facebook Comments