काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस उम्मेदवार छान्ने अन्तिम चरणमा रहेको भन्दै उम्मेदवार छनोटमा सबैलाई समेट्न आफूले प्रयास गरिरहेको बताएका छन् ।  

सोमबार भिडिओ सन्देशमार्फत् सभापति थापाले पार्टीभित्र नयाँ र पुरानाको सन्तुलन र यसलाई समावेशी बनाउने प्रयास भइरहेको बताए । उनले भनेका छन्– ‘हामी अहिले उम्मेदवार छान्ने अन्तिम चरणमा छौं। त्योभन्दा धेरै भिन्न तरिकाले गर्नुपर्छ भन्ने मेरो हाम्रो सोचाइ हो। खास गरी अन्तिम चरणमा केन्द्रले छान्ने भन्ने कुरा नै गलत हो। तलैबाट प्रत्येक निर्वाचन क्षेत्रबाट छान्नु पर्छ भनेर विधानको प्रस्ताव पनि गरेका छौं।

ad

आफू जिम्मेवारीमा आउनुभन्दा अगावै तलबाट उम्मेदवार सिफारिस भएर आएको बताउँदै उनले भनेका छन्– ‘यस्तो बेलामा पार्टीको जिम्मेवारीमा आइपुगेको छु, त्यतिखेर पुरानै विधानको आधारमा १६५ निर्वाचन क्षेत्रबाट उमेदवारहरूले सिफारिस गरिएको छ। कुनै ठाउँमा दर्जन उम्मेदवार सिफारिस गरिएको छ। कहीँ मिलाइएको छ। कहीँ मिलाइएको छैन। त्यसमाथि तपाईंहरू सबैलाई थाहा छ, यो जिम्मेवारीमा आइपुग्दै गर्दा आएको केही दिनपछाडि लगत्तै निर्वाचन हुने अवस्था भयो । ‘निर्वाचन आयोगको निर्णयपछाडि केही साथीहरूले यो चित्त बुझेन भनेर कानुनी परीक्षण खोजिराख्नु भएको स्थिति छ। कानुनी परीक्षण खोजिराख्नु भएको साथीहरूलाई पनि समेटेर लैजाऊँ भनेर हिजो साँझसम्म त मेरो केही प्रयास रह्यो जसको कारणले गर्दा अहिले एकदमै धेरै समयको चाप परेको छ।

उनले अगाडि भनेका छन्– ‘हामी आज दिनभरिमा सबै कुराहरू टुंग्याउँछौं। बेस्ट (अधिकतम राम्रो) कोसिस गर्छु। जो साथी पार्टीको तर्फबाट रूख चिह्नको आधिकारिकता लिएर आउनुहुन्छ। त्यो साथीको पक्षमा सबै जना पार्टीको साथीहरू एक ढिक्का भएर मनमा कुनै पनि कुरा नराखिकन लाग्नुहोला। यो एउटा अभियान हो। यो अभियानमा हामी सबै जुट्नु पर्छ भनेर तपाईहरू लाग्नु हुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छु ।