
अफ्रिकन कप अफ नेसन्सको तनावपूर्ण फाइनलमा मोरक्कोलाई १-० ले हराउँदै सेनेगलले दोस्रो पटक उपाधि जितेको छ। खेलको अतिरिक्त समयमा पापे गेयले गरेको गोल नै निर्णायक बन्यो।
रबातस्थित प्रिन्स मौले अब्दल्लाह स्टेडियममा भएको यो खेल फुटबलको कौशलभन्दा बढी विवाद र समर्थकहरूको उग्र प्रदर्शनका कारण चर्चामा रह्यो। दोस्रो हाफको इन्जुरी समयमा भिडियो असिस्टेन्ट रेफ्री (VAR) को निर्णयलाई लिएर सेनेगलका समर्थक र मोरक्कोका सुरक्षाकर्मीबीच हिंसात्मक झडप भएको थियो।
रेफ्रीले सेनेगलको एउटा गोललाई मान्यता नदिएको र लगत्तै मोरक्कोलाई पेनाल्टी दिएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। सेनेगलका समर्थकहरू प्यारापिटबाटै मैदानमा उत्रिएपछि दङ्गा नियन्त्रण प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो। यस क्रममा एक सुरक्षाकर्मी गम्भीर घाइते भएका छन्।
मोरक्कोका लागि ५० वर्षपछिको खडेरी अन्त्य गर्ने सुवर्ण अवसर इन्जुरी समयको ९६औँ मिनेटमा आएको थियो। तर, स्टार खेलाडी ब्रहिम डियाजले प्रहार गरेको 'पानेन्का' पेनाल्टी सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले सहजै बचाए। डियाजको यो कमजोर प्रहारले ६६ हजारभन्दा बढी घरेलु दर्शकलाई स्तब्ध बनायो।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको सुरुवातमै पापे गेयले शक्तिशाली प्रहार गर्दै गोल गरे। त्यसपछि मोरक्कोले गोलका लागि निकै प्रयास गरे पनि सेनेगलको रक्षापङ्क्ति र गोलकिपर मेन्डीलाई भेदन सकेन।
सेनेगलले यसअघि २०२२ मा इजिप्टलाई हराएर पहिलो पटक यो उपाधि जितेको थियो। घरेलु मैदानमा उपाधि जित्ने मोरक्कोको ५० वर्ष लामो सपना भने यसपटक पनि अधुरै रह्यो। खेल सकिएपछि सेनेगलका खेलाडीहरूले आफ्ना समर्थकहरूसँग खुसी मनाएका थिए भने मोरक्कोका खेलाडीहरू मैदानमै भावुक भएर ढलेका थिए।










Facebook Comments