संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूको प्रतिनिधित्व गर्ने दुई समानान्तर संगठनहरू (एनआरएनए) बीच ऐतिहासिक एकता भएको छ। लामो समयदेखिको अन्योल चिर्दै नेभाडाको लस भेगासमा आयोजित एक विशेष समारोहका बीच दुई पक्षीय एकीकरण सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा सतेन्द्र साह र न्युयोर्क पक्षका तर्फबाट महासचिव तथा कार्यवाहक अध्यक्ष यदु बञ्जाराले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षरपछि बोल्दै बञ्जाराले गैरआवासीय नेपालीहरूको हकहितका लागि एकता आवश्यक रहेको बताउनुभयो। त्यस्तै, अध्यक्ष साहले साझा मुद्दाहरूलाई अगाडि बढाउन यो एकता गरिएको उल्लेख गर्नुभयो।

ad

विभिन्न च्याप्टरका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले दुई संस्थाबीचको मेलमिलापलाई सकारात्मक कदमका रूपमा लिएका छन्।

सम्झौता के भयो ?

आधिकारिक संस्था:अब टेनेसी राज्यमा दर्ता भएको एनआरएनए एनसिसी अमेरिका मात्र कायम रहनेछ।

खारेजी:न्युयोर्कमा दर्ता भएको सूर्य लम्साल नेतृत्वको एनआरएनएलाई खारेज गर्ने सहमति भएको छ।

सञ्चालन:आगामी दिनमा एनआरएनएका सम्पूर्ण गतिविधिहरू टेनेसीमा दर्ता भएको संस्थाकै नामबाट सञ्चालन हुनेछन्।