
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला चुनावको पक्षमा उभिएका छन् । कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दामामिलामा लागे पनि कोइराला चुनावका पक्षमा खुलेका हुन् ।
आज काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने बताएका हुन् ।
उनले निर्वाचन सहजताका लागि माघ ६ गतेको मनोनयन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी दिँदै सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने भए पनि हालसम्म त्यसको प्रत्याभूति नभएको बताए ।
कोइरालाले पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफू अदालतको निर्णय मान्ने पनि बताए । उनले नेता तथा कार्यकर्तालाई निर्वाचनसँगै १५औँ महाधिवेशनको तयारी गर्न निर्देशन समेत दिए ।
उनले पार्टीको कठिन अवस्थामा मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिए । कोइरालाले मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुने बताउँदै भने, ‘म सत्यको बाटो हिँडिरहेको छु । यसबाट विचलित हुँदिन ।’










Facebook Comments