
काठमाडौं । नेपाली राजनीतिको केन्द्रविन्दु मानिने सिंहदरबारले झन्डै दुई दशकपछि फेरि संसद्को राप र ताप महसुस गर्ने भएको छ । वि.सं. २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनपछि बानेश्वर सरेको संसद्, हालैको ‘जेनजी’ आन्दोलनको राँकोले बानेश्वरस्थित भवन ध्वस्त बनाएपछि पुनः आफ्नै पुरानो थलो सिंहदरबार फर्किएको हो ।
माघ ४ गते आजदेखि सुरु हुने राष्ट्रिय सभाको अधिवेशन सिंहदरबारमै बस्ने निश्चित भएको छ । यसले नेपाली संसदीय इतिहासमा एउटा महत्वपूर्ण चक्र पूरा गरेको छ ।
२०६३ सालमा तत्कालीन सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको साक्षी बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बानेश्वर) अब इतिहासको पानामा सीमित भएको छ । राजा वीरेन्द्रको आग्रहमा चीन सरकारले उपहारस्वरूप बनाइदिएको यो कलात्मक भवन गत भदौ २३ र २४ गतेको आन्दोलनमा जलेर नष्ट भयो ।
बानेश्वरमा संसद् सर्नुअघि सिंहदरबारकै ‘ग्यालरी बैठक’मा संसदीय अभ्यास हुने गथ्र्यो । अहिले फेरि बाध्यात्मक परिस्थितिका कारण सिंहदरबारभित्रैको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभा बैठकका लागि तयार पारिएको छ ।
नयाँ पुस्ताको ‘जेनजी’ आन्दोलनले भौतिक रूपमा बानेश्वरको भवन खरानी बनाए पनि यसले राज्यलाई आफ्नै स्थायी संरचना छिटो सक्न दबाब दिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसारः ‘तत्कालका लागि समितिको हललाई परिमार्जन गरेर राष्ट्रिय सभा चलाउने तयारी पूरा भएको छ । तर दीर्घकालीन रूपमा सिंहदरबारभित्रै निर्माणाधीन नयाँ भवनलाई नै मुख्य केन्द्र बनाइनेछ ।’
प्रतिनिधिसभाको आगामी निर्वाचन फागुन २१ गते तोकिएको छ । उक्त निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिहरूले सम्भवतः बानेश्वरको भाडाको वा अस्थायी विकल्पमा बस्नुपर्ने छैन । सहरी विकास विभागका अनुसार नयाँ संसद् भवनको काम ८८ प्रतिशत सम्पन्न भइसकेको छ ।









Facebook Comments