भर्खरै पुस महिना सकिएको छ, पुसमा नेपालको इतिहासमा ठूलो महत्व बोकेका २ दिन पुस २७ र पुस १६ रहेको सर्वविदितै छ । २७ गते आधुनिक नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिन हो भने १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं जननायक, महामानव बीपी कोइराला ८ वर्ष लामो निर्वासन त्यागी मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिन हो । यिनै दिनको स्मरण गर्दै भर्खरै दुई समूहमा विभाजित नेपाली कांग्रेसले इतिहासमा जस्तै मुलुकको नेतृत्व गरिरहने हो भने पुनः पार्टी एकता अपरिहार्य रहेको छ । इतिहासमा धेरैपटक चोइटिएर पनि प्रमुख दलको रूपमा रहिरहन सफल कांग्रेस पार्टीभित्र पलाएको चरम गुटबन्दी, सत्तालोलुपता र कब्जाको कारण विभाजित भए पनि सबैले आ–आफ्नो गल्तीलाई मिहीन रूपमा स्विकारी पुनः एकताबद्ध हुनुको विकल्प छैन । नेपाली लोकतन्त्रको पर्यायवाची भनी उपमा पाएको कांग्रेस एकताबद्ध भएन भने लोकतन्त्रमाथि नै संकट आउने कुरालाई नकार्न सकिँदैन, त्यसैले ढिलो नगरीकन कांग्रेस तत्काल एक भएर जानु पर्दछ । 

नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो महाधिवेशनले गरेको नयाँ नेतृत्व चयनलाई निर्वाचन आयोगले मान्यता दिएपछि पार्टीमा पुस्तान्तरण र रूपान्तरण सुरु भए पनि एउटा समूह असन्तुष्ट रहँदा पार्टी एकतामा केही समस्या उत्पन्न भएको छ । निरंकुश शासनको अन्त्यदेखि प्रजातन्त्र, संविधान निर्माण, लोकतन्त्र र गणतन्त्रको संस्थागत यात्रासम्म महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाली कांग्रेस अहिले कठिन मोडमा छ । मुलुकको पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेस फुटको दिशामा जानु पक्कै पनि सुखद् संकेत होइन । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको अवस्थामा कांग्रेसमा देखिएको मतभिन्नताले कांग्रेसलाई क्षति पु¥याउनेमा दुई मत हुन सक्दैन । त्यसैले नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरूले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजित नभई एकताको यात्रा तय गर्नु आवश्यक छ । अहिलेको जटिल अवस्थामा पार्टीभित्र बेमेलको सट्टा सहमति, सहकार्य र एकताकै बलमा संगठित भएर आन्तरिक तिक्तता मेटाउँदै नवीन ऊर्जाका साथ अगाडि बढनु नै कांग्रेसका लागि श्रेयस्कर देखिन्छ । कांग्रेसभित्रको एकता नै राष्ट्रिय एकताको आधार हो । अब कांग्रेस आन्तरिक विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्यागेर आगामी निर्वाचनमा एकजुट भएर अगाडि बढ्नु जरुरी छ । नेपाली कांग्रेसका नेताहरूले अब दम्भ र हठ त्यागेर ८ दशक लामो पार्टी इतिहासको गौरव जोगाउँदै निर्वाचनमा होमिनु आवश्यक छ । पार्टी एकजुट हुँदा सबैको सम्मान हुने र सबैको क्षमता र योग्यताको कदर हुने कुरालाई नेताहरूले हेक्का राख्नु अपरिहार्य छ । कांग्रेसका जिम्मेवार नेताहरूले वर्तमान विषम परिस्थितिमा पार्टी र भावी पुस्ताको भविष्यलाई ध्यानमा राखेर त्याग, समर्पण र अग्रगामी निर्णय गरी अगाडि बढेर आगामी दिनमा पार्टीलाई अझै बलियो बनाउन भूमिका निर्वाह गर्नुपर्छ ।  

ad

लोकतन्त्रको सुदृढीकरण लागि राजनीतिक स्थिरता र दलहरूबीचको आन्तरिक एकता अपरिहार्य रहेको छ । राजनीतिमा देखिएका नयाँ चुनौतीहरूको सामना गर्न कांग्रेसमा एकताको विकल्प छैन । पार्टीभित्र विवाद र बहस हुनु स्वाभाविक भए पनि त्यसलाई व्यवस्थापन गर्ने दायित्वबाट नेतृत्व पछि हट्नुहुँदैन । 

ठूलो संघर्ष र बलिदानबाट प्राप्त भएको अहिलेको लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन कांग्रेस बलियो हुनु जरुरी छ । कांग्रेसलाई मुलुकको प्रमुख पार्टी बनाउने र आगामी  निर्वाचनमा भारी मत जुटाउने हो भने कांग्रेसमा एकताबाहेक अर्को विकल्प छैन । विगतमा पार्टीभित्रको अन्तरद्वन्द्वकै कारण निर्वाचनमा पराजित हुनुपरेको इतिहास केलाउँदै कांग्रेस एकताबद्ध भएर अगाडि बढ्नु जरुरी छ ।