काठमाडौं । गत भदौको अन्तिम साता भएको जेन्जी विद्रोहपछि मुलुकमा उत्पन्न विषम परिस्थतिका कारण ६८ वर्षपछि नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सो विद्रोहको भावनलाई आत्मसात् गर्दै तेस्रो पुस्ताका प्रभावशाली युवा नेता पूर्वमहामन्त्री गगनकुमार थापाको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ, साथै सो समितिमा करिब÷करिब एकैपटक नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका युवाहरू विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे र प्रदीप पौडेलहरू नेतृत्वमा स्थापित भएका छन् । थापा सभापति, शर्मा उपसभापति, घिमिरे र पौडेल महामन्त्री हुनुलाई सम्पूर्ण लोकतन्त्र र कांग्रेसप्रति सहानुभूति र समर्थन जनाउने पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकले अहिलेको कांग्रेस २०१५ सालको कांग्रेसजस्तै भएको चित्रित गर्न थालेका छन् । यो युवा नेतृत्वले पाएको अपार समर्थन र सद्भावले उनीहरूमाथि पार्टी, लोकतन्त्र र मुलुकलाई बदल्नुपर्ने चुनौती पनि उत्तिकै बढेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । 

शुक्रबार आयोगले नेपाली कांग्रेस पार्टीको विधान, प्रक्रिया र दर्ता अभिलेखका आधारमा विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत ठहर गर्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेसँगै कांग्रेसको आधिकारिकता विवाद निरूपण भए पनि तर, अहिले सानेपामा हालिमुहाली गर्दै आएको शेरबहादुर देउवा समूहले भने अदालत जाने निर्णय गरेको छ ।  भदौमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा पार्टीमा पुस्तान्तरणका लागि जोडदार माग हुँदा शेरबहादुर देउवालगायत पुरानो नेतृत्वले नजरअन्दाज गरेकै कारण कांग्रेसमा पुरानो नेतृत्वको युग समाप्त भएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ । नेपाली कांग्रेसको हिजो शनिबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई उच्च मूल्यांकन गर्दै अभिभावकीय भूमिका रहन आह्वान गर्दै पार्टीका अगाडि चुनौतीका पहाड रहेकोमा एकता र सद्भावलाई कायम राख्न अपिल गरेको छ । कांग्रेसका ६५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तनका लागि भदौ २७ देखि बोलाएको ऐतिहासिक दोस्रो महाधिवेशनले पुस ३० गते थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गरेको थियो । 

ad

फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको उम्मेदवारी मनोनयनको ४ दिनअगाडि गगन थापा नेपाली कांग्रेसको आधिकारिक सभापति बनेपछि कांग्रेस उम्मेदवारको टिकटमा अब थापाले हस्ताक्षर गर्ने भएका छन् । थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोग निर्णयलाई देउवा समूहले स्वीकार नगरी सर्वोच्च अदालतमा जाने निर्णय गरे पनि देउवा पक्षमा रहेका केही नेताहरूले आयोगको निर्णय मान्न दबाब बढाइरहेको बुझिएको छ । 

आयोगले पार्टी विधान, प्राप्त कागजात र कानुनी प्रावधानको अध्ययनपछि तीन प्रमुख आधार प्रस्तुत गर्दै थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको हो । आयोगका अनुसार पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ, जसअनुसार महाधिवेशन आयोजना भएको ठहर गरिएको छ । साथै, विधानअनुसार महाधिवेशन प्रतिनिधि नै पार्टीको सर्वोच्च निकाय हुने भएकाले उनीहरूले गरेको निर्णय मान्य हुने आयोगको निष्कर्ष छ । तेस्रो आधारका रूपमा, विशेष महाधिवेशन माग गर्ने विषयमा कुनै औपचारिक आपत्ति नआएकाले महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको आयोगले प्रस्ट्याएको छ । आयोगको निर्णयमा भनिएको छ, ‘बहुसंख्यक महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरी विधिसम्मत तवरबाट केन्द्रीय कार्यकारिणी समितिको नेतृत्व छनोट गरी साधिकार निकायमा अद्यावधिकका लागि पठाएको विषय संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, दलसम्बन्धी नियमावली, २०७४ र दलको विधानसम्मत भए गरेको देखिन्छ ।’

आयोगको निर्णयलगत्तै नेपाली कांग्रेसका सभापति गगन थापाले विज्ञप्ति जारी गर्दै यो कांग्रेसका सदस्य र शुभेच्छुकले गरेको इमानदार प्रयत्नको प्रतिफल भएको पनि बताएका छन् । उनले भनेका छन्,‘यसले स्थापित गरेको छ । पार्टी नेताको चाहनाले मात्र होइन आमसदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ ।’ कांग्रेसमा आबद्ध सबैलाई संयम, जिम्मेवार र एकताबद्ध हुन आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘विशेष महाधिवेशनमा सहभागी हुनुभएका÷नहुनुभएका, सहमत हुनुभएका÷नहुनुभएका सबै नेपाली कांग्रेसमा आबद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनुभएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहन्छु — यो विधि विधानले प्रधानता पाएको हो, जय÷पराजयको विषय होइन– कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ । रिफर्मको यात्रा सुरु भइसकेको छ । अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न निर्वाचनमा एक ढिक्का भई लाग्नुपर्नेछ ।’  

उनले अब कांग्रेसमा कुनै गुट र भागबन्डा नहुने बताउँदै अगाडि भनेका छन्– आजबाट कांग्रेसमा कुनै गुट, गुटगत भागबण्डा हुने छैन, लाग्ने छैन । जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ । तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ । 

बुधबार संस्थापन पक्षले पार्टीका तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निष्कासन गरेको केही घण्टाभित्रै विशेष महाधिवेशन पक्षले नयाँ कार्यसमिति सार्वजनिक गरेका थिए । बुधबार राति सम्पन्न निर्वाचन र सहमतिको प्रक्रियाबाट सभापतिमा थापासहित पदाधिकारीहरू र सदस्यहरू चयन भएका थिए । यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तै महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका हुन् भने सहमहामन्त्रीहरूमा महिला कोटाबाट डिला संग्रौला पन्त, खस आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) चयन भएका थिए ।

यसैगरी सदस्यहरूमा अनुभवी नेता गोपालमान श्रेष्ठ र ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह के.सी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी र भरत शाह पनि खुलातर्फबाट केन्द्रीय सदस्यमा चुनिएका छन् । 

त्यस्तै मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले र देवराज चालिसे, उद्योगपति एवं सांसद विनोद चौधरी केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, र देवप्रसाद तिमिल्सिना पनि नयाँ कार्यसमितिमा परेका छन् भने अजयबाबु शिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा र जगत जोशी पनि केन्द्रीय सदस्य बनेका छन् ।

कांग्रेसको ध्यान चुनावतिर 

नेपाली कांग्रेसले अब सम्पूर्ण ध्यान फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित गर्दै पार्टीलाई सम्पूर्ण रूपमा निर्वाचनका गतिविधिमा केन्द्रित गरेको छ । पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचनलगायत चुनौतीहरू सामना गर्न सकिने भन्दै एकता र सद्भाव कायम राखी पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन देशभरका नेता तथा कार्यकर्तालाई कांग्रेसले अपिल गरेको छ । 

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुर्‍याएको योगदान र दिएको नेतृत्वको उच्च मूल्यांकन र प्रशंसा गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए । उनले आगामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवालगायत अग्रज नेताहरूको अभिभावकत्व रहिरहने बैठकले विश्वास लिएको समेत बताए । यस्तै, प्रतिनिधिसभा चुनावमा टिकट वितरणका लागि संसदीय बोर्डमार्फत काम अघि बढाउने निर्णय गरेको छ ।

पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा कांग्रेसले १६५ क्षेत्रमै माघ ६ गते उम्मेदवारी दिने जनाएको छ । कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरू, महामन्त्रीहरू र सहमहामन्त्रीहरू रहेको हाललाई १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

बैठकले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै अप्राकृतिक चुनावी गठबन्धन नगर्ने निर्णय पनि गरेको छ । कांग्रेस आफ्नो अटल प्रतिबद्धतालाई पुनः दोहोर्‍याउन चाहन्छ कि कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित गठबन्धन हामी गर्नेवाला छैनौँ भनेर हामीले कमिटमेन्ट गरेका छौँ । हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहनेछौँ,’ प्रवक्ता चालिसेले बताए । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति थापाले अब देउवाले पार्टीलाई एकढिक्का राख्नका लागि देशभरका साथीहरूलाई आह्वान गर्ने बताए । उनले एउटा चरणसम्म आफूहरूको केही विमति रहे पनि अब सबै एक ठाउँमा आउने कुरामा देउवाको भूमिका आवश्यक रहेको उल्लेख गरे । उनले देउवाबाट आफूले ठूलो अभिभावकीय भूमिकाको अपेक्षा गरेको बताए । आफूले पार्टीका वरिष्ठ नेता डा.शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि सहयोगको अपेक्षा गरेको सभापति थापाले उल्लेख गरे । 

देउवा समूह अदालततिर 

निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि आयोगको निर्णय पार्टीको विधान र संविधानविपरीत भएकाले यसको कानुनी उपचार खोज्दै राजनीतिक रूपमा समेत प्रतिवाद गरेर जाने निष्कर्षमा नेपाली कांग्रेसको विघटित केन्द्रीय कार्यसमिति पुगेको छ । शनिबार कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता उपस्थित संख्यासमेत नहेरी निर्वाचन आयोगले एकलौटी रूपमा दूषित मनशायबाट प्रेरित भएर निर्णय गरेकोमा आपत्ति जनाएको छ । 

नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले मिति २०८२ साल माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन, राजनीतिक दलसँग जोडिएका कतिपय विवादहरूको निरूपण गर्दा निर्वाचन आयोगकै विगतका निर्णयहरूबाट स्थापित नजिरहरू, शेरबहादुर देउवा सभापति रहनुभएको नेपाली कांग्रेसबाट निरन्तर रूपमा गरिएका पार्टीको निर्णयसँग सम्बन्धित जानकारीमूलक पत्राचार र बुझाइएका प्रमाणहरूलाई बेवास्ता र नेपाली कांग्रेसको विधानको व्यवस्थाविरुद्ध गरिएको छ,’ कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तिमा भनिएको छ । 

‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्यासमेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दूषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ,’ निर्णयमा भनिएको छ, ‘देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसाय प्रस्ट देखिन्छ ।’

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा डा. शेखर कोइराला र उनी पक्षका नेताहरूको समेत उपस्थिति रहेको थियो । बैठकमा रमेश लेखक, कृष्ण सिटौला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेता पनि सहभागी थिए ।

आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानुनी काम कारबाहीका लागि पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय पनि देउवा समूहले गरेको छ ।