काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा एउटा ठूलो 'ब्रेक-थ्रू' भएको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको केही घण्टाभित्रै उपसभापति विश्वप्रकाश शर्माले पार्टीका तर्फबाट गगन थापालाई 'भावी प्रधानमन्त्री' का रूपमा अघि सार्ने औपचारिक घोषणा गर्नुभएको छ।

फेसबुक लाइभमार्फत देशवासी र पार्टी पंक्तिलाई सम्बोधन गर्दै उपसभापति शर्माले अब कांग्रेस 'गगन थापालाई प्रधानमन्त्री बनाउने' प्रस्ट लक्ष्यका साथ चुनावी मैदानमा होमिने बताउनुभयो।

ad

उपसभापति शर्माले भन्नुभयो, "पार्टीभित्र प्रधानमन्त्रीको उम्मेदवार तोकेर जाउँ भन्ने बहस पहिल्यैदेखि थियो। आज उपसभापतिको हैसियतले देशभरिका साथीहरूको मन बुझ्दा सबैको चाहना गगनकुमार थापा नै हो भन्ने पाएको छु। त्यसैले, कांग्रेस अब सभापति गगन थापालाई नै आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जान्छ।"

विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने र नगर्ने पक्षबीचको विवाद अब समाप्त भएको शर्माको दाबी छ। "जो बदलिन्छन्, उनीहरूले नै बदल्न सक्छन्," उहाँले भन्नुभयो, "विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने वा नगर्ने सबै साथीहरू अब एउटै मालामा उणिनुपर्छ। हामीबीच अब कुनै दुरी र दरार रहने छैन।"

अबको कांग्रेसले युवा पुस्ता (जेनजी) को आकांक्षा र सुशासनको मागलाई सम्बोधन गर्ने संकल्प गरेको छ। विगतका कमी-कमजोरीप्रति आत्मालोचित हुँदै पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने प्रतिबद्धता उपसभापति शर्माले व्यक्त गर्नुभयो।

"एकथरी साथीहरूले सार्थक हस्तक्षेप गरिसक्नुभएको छ, अब अर्काथरी साथीहरूले पनि हस्तक्षेप गर्ने बेला आएको छ," भन्दै उहाँले पार्टीका सबै तह र तप्कालाई सक्रिय हुन आह्वान गर्नुभयो।