
काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै पार्टीमा आठ दशक लामो पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको बताउनुभएको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गरेपछि सामाजिक सञ्जालमा लेख्नुहुँदै डा. संग्रौलाले आजको दिनलाई कांग्रेसको इतिहासमा 'ऐतिहासिक दिन' को रूपमा चित्रण गर्नुभएको हो ।
सहमहामन्त्री संग्रौलाले अब विगतका सबै मतभेद, तिक्तता र समूहगत विवादलाई बिर्सिएर अघि बढ्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । "विशेष महाधिवेशनको हलले दिएको म्यान्डेट अनुसार नै अब पार्टी सञ्चालन हुने कुरामा म सबै साथीहरूलाई आश्वस्त पार्न चाहन्छु," उहाँले भन्नुभएको छ ।
पार्टीको आन्तरिक विवाद टुङ्गिएसँगै अबको सम्पूर्ण ध्यान आगामी आम निर्वाचनमा केन्द्रित हुनुपर्ने उहाँको जोड छ । आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई सफल पार्न जिम्मेवार भएर सक्रिय भूमिका खेल्न उहाँले कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभएको छ ।
विशेष महाधिवेशनको प्रक्रियामा विभिन्न कारणले सहभागी हुन नसकेका वा बाहिर रहेका नेता-कार्यकर्ताहरूलाई नयाँ संरचनामा उचित स्थान दिइने उहाँले बताउनुभएको छ । "विविध कारणले प्रक्रियामा छुट्नुभएका साथीहरूलाई समाहित गर्न हामीले आफ्नो ठाउँबाट सक्दो भूमिका खेल्नेछौँ," उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।










Facebook Comments